दाङ, २२ बैशाख ।
बैशाख १ गते राति साढे ९ बजे घोराहीकी ४० वर्षिय शारदा केसीको हत्या भयो । घोराही उपमहानगरपालिका १२ रतनपुर निवासी शारदाको श्रीमानले काठको चिरपटले हानेर हत्या गरेका थिए । श्रीमानले श्रीमतीको हत्यापछि उनको शबलाई खाल्डोमा गाडेर फरार भएका थिए ।
शारदाको हत्यापछि घरनजिकै उत्तरतर्फ दुई फिट जति गहिरो खाल्डोमा शव गाडेको अवस्थामा फेला परेको थियो । घटनापछि शारदाको माइती पक्षले श्रीमान मेघराज नै हत्यामा संलग्न भएको व्यहोरासहितको किटानी जाहेरी दिएका थिए ।
हत्या भएको दिन वैशाख १ गते शारदाका छोरी र १५ वर्षीय कान्छा छोरा घोराहीको हेमन्तपुरस्थित मामाघर गएका थिए । उनका जेठा छोरा रोजगारी सिलसिलामा भारतमा छन् । मध्यरातमा श्रीमानले श्रीमतीको हत्या गरी घरनजिक खाडलमा गाडेर फरार भएका थिए । श्रीमान र श्रीमतीबिचको सम्बन्धमा खटपट आएपछि हत्या गरेको बयान श्रीमानले प्रहरीसमक्ष दिएका छन् । श्रीमानले रिसको आवेकमा आएर श्रीमतीलाई दाउराको चिरपटले हानेर हत्या गरेका थिए । परिवारिक विवादकै कारण शारदाले अकालमा मृत्युवरण गर्नुपरेको हो ।
यस्तै गत १४ बैशाखमा दाङका रेशम बहादुर दमाईको हत्या भयो । बंगलाचुली गाउँपालिका वडा नम्बर १ सिउजाडाडा टोलका ६४ वर्षिय दमाईको श्रीमतीबाटै हत्या भयो ।
श्रीमतीले बञ्चरो प्रहार गरेर श्रीमानको हत्या गरेकी हुन् । हत्यापछि श्रीमती ५७ वर्षिय केशरादेवी दमाईलाई प्रहरीले पक्राउ गरिसकेको छ । घरयासी सामान्य विवादमा श्रीमानको टाउकोमा हानेर विभत्स हत्या भएको हो । आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती अहिले प्रहरीको हिरासतमा छिन् । श्रीमान श्रीमतिबिचको विवाद हत्यासम्म पुगेको हो ।
त्यसको ठिक एक महिना अघि गतवर्ष चैत १४ मा पनि बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसका ४० वर्षिय रेशम सुनारको पनि आफ्नै श्रीमतीबाट हत्या भयो । उनको हत्यामा पनि परिवारकै सदस्यको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनको हत्यामा संलग्न रहने श्रीमती ३२ वर्षिय कमला सुनार र छोरा १७ वर्षिय शिबराज सुनारलाई प्रहरीले पक्राउ गरिसकेको छ । सुनारको कोदालो प्रहार गरी हत्या भएको थियो । उनको हत्यामा श्रीमती र छोरा संलग्न रहेको प्रहरीले जनाएको छ । परिवारकै सदस्यबाटै रेशमले ज्यान गुमाए । उनर्ला रातको नौ बजेतिर हत्या भएको हो । यि तीन पछिल्ला प्रतिनिधिमूलक घटना हुन् । दाङमा हत्याजस्तो जघन्य अपराधका घटना बढेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पछिल्लो करिब चार वर्षको अवधिमा ५८ जनाको हत्या भएको छ । आर्थिक वर्ष २०७६÷२०७७ देखि चालुवर्षको बैशाख सम्ममा ५८ जनाको हत्या भएको हो । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६÷२०७७ मा १५, २०७७÷२०७८ मा १९, २०७८÷२०७९ मा १५ र चालुवर्षमा बैशाख १९ गतेसम्म ९ जनाको हत्या भएको छ । बेरोजगारी, डिप्रेसन, आर्थिक तथा पारिवारिक समस्या लगायतका कारण हत्याका घटनाहरु बढ्न थालेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पारिवारिक विवाद, यौन तृष्णा, डिप्रेसन, अनैतिक सम्बन्ध, रिस, सम्पत्ति, जग्गा विवाद, लेनदेनका कारण नै हत्याको मूख्य कारण देखिएका छन् ।
हालसम्म भएका विभिन्न व्यक्ति हत्याको घटनाहरुलाई विश्लेषण गर्दा हत्याका कारणहरु फरक–फरक पाईएपनि उनीहरुको नजिककै आफन्तबाट हत्या हुने गरेको छ । दाङमा हत्याका अधिकांश घटनामा नजिककै आफन्त संलग्न हुने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए । ‘पछिल्लो पटक भएका हत्याजस्तो जघन्य तीन अपराधमा घरकै परिवारको सदस्य संलग्न रहेको देखिएको छ ।’ उनले भने–‘हत्यामा संलग्न परिवारकै सदस्य वा नजिककै आफन्त हुने गरेको देखिन्छ ।’