
तुलसीपुर, २७ चैत । होटल व्यवसायीले राज्यले कर असुलका नाममा व्यवसायीलाई विस्थापित गराउन खोजेको बताएका छन् । कोरोना महामारी र पछिल्लो समय आर्थिक मन्दीको चपेटामा परेका होटल व्यवसायीलाई राज्यले कर असुलका नाममा आतंकित बनाएको उनीहरुको गुनासो छ ।
तुलसीपुर होटल व्यवसायी समितिले सोमबार तुलसीपुरमा गरेको नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा होटल व्यवसायीले राज्यले करको नाममा व्यवसायीलाई दुख दिएको गुनासो गरेका छन् ।
कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा तुलसीपुर होटल व्यवसायी समितिका सल्लाहकार नेत्रलाल वलीले आर्थिक तरलताको मारमा होटल व्यवसायी रहेको बताउनुभयो ।

उहाँले कोरोनाको समयमा रोजगारी गुमाएका कर्मचारीलाई स्थापित गराउन नसकिरहेका व्यवसायीलाई राज्यले करका नाममा विस्थापित गराउन थालेको बताउनुभयो । ‘बैंकले हामीलाई फोन गरिरहेको छ, तिमीहरु किन व्याज हाल्दैनौँ ।’ उहाँले भन्नुभयो-‘आज बैंक पनि लिलामी सम्पति किन्ने मान्छे भेटाउन सकिरहेको छैन् ।’
होटल व्यवसायीले धेरैलाई रोजगार दिएपनि राज्यबाटै अपहेलित भएको उहाँले बताउनुभयो । उहाँले दाङ सुरक्षित छ भन्ने सन्देश नजाँदा दाङका होटल व्यवसायी मारमा परेको बताउनुभयो । दश वटै पालिकाले दाङ जिल्ला सुरक्षित छ भन्ने वातावरण निर्माण गर्न सके होटेल व्यवसायीलाई राहत मिल्ने उहाँले बताउनुभयो ।
समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले परम्परागत भन्दा पनि व्यवसायीक हिसावले होटल व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तुलसीपुरमा पर्यटन क्षेत्रको विकास हुन सकेपछि होटल व्यवसाय फस्टाउने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले होटल व्यवसाय सुरक्षित बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष दोणर् आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा दाङ-देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र पुनले कारोबार घटेको अवस्थामा राज्यले सहुलियत दिनुपर्ने बताउनुभयो ।
गढवा होटल व्यवसायी समिति अध्यक्ष दयाराम थापा र भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेलवासेले नितिभित्र रहेर व्यवसाय संचालन गर्दा राज्यबाटै सास्ती पाएको बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका राजेश चौधरीले खाद्य सुरक्षामा जोड दिन व्यवसायीलाई आग्रह गर्नुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी व्यवसाय दर्ता गर्दा बुझेरमात्रै दर्ता गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण समितिका सचिव तुफान केसीले गर्नुभएको हो । त्यस अवसरमा २०८० सालको पात्रो बिमोचन गरिएको छ । नगरप्रमुख खड्काले पात्रोको बिमोचन गर्नुभएको हो ।

कार्यक्रममा आउने अतिथिलाई पिपल पातको व्याज वितरण गरिएको थियो ।
