२०८० असोज ११ गते बिहिवार

कोठामा निस्सासिएर  दाङमा एक जनाको मृत्यु

दाङ, ३ चैत । दाङमा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीया पार्वती घर्तीको कोठामा लागेको आगोले निस्सासिएर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले एक कोठेजस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुवाँका कारण निस्सासिएर मृत्यु भएको पूर्व अनुमान गरिएको बताउनुभयो ।

मापसे गरेको समयमा चुरोट खाएर ठूटो फाल्दा सिरक वा डसनामा परेपछि त्यहीबाट आगो सल्किएर निस्सासिएर मृत्यु भएकोजस्तो देखिएको उहाँले बताउनुभयो ।

तर, मृतकको शरीरमा भने कतै जलेको वा पोलेको घाउखत नदेखिएको उहाँले बताउनुभयो ।

कोठामा धुवाँ भरिएपछि भाग्ने प्रयास स्वरूप ढोका खोल्न प्रयास गरे पनि नसकेर ढोका नजिकै ढलेको अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।

शुक्रबार (आज ) बिहान स्थानीयले लामो समयसम्म पनि ढोका नखोलेको देखेपछि उठाउन भनेर ढोका ढकढक्याउन गएको र त्यसक्रममा कोठाको भेन्टिसेलनबाट धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयका अनुसार एक वर्ष पहिला पार्वती र उनका श्रीमानको सम्बन्ध विच्छेद भएको थियो । पार्वतीका तीन छोरा काठमाडौंमै छन् । उनीहरू आएपछि मात्रै शवको पोष्टमर्टम हुने प्रहरीले जनाएको छ । शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस