काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा आज यूएई र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदैछ ।यूएई र पीएनजीको खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । हिजो भएको खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । जितसँगै नेपालको ३३ खेलमा ३४ अङ्क छ । नेपाल पाँचौँ स्थानमा छ।
यूएई ३२ खेलमा ३१ अङ्ककासाथ छैटौँ र पीएनजी ३३ खेलमा ९ अङ्ककासाथ पुछारमा रहेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ ।
अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले अबका तीन खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । तीनमध्ये एउटा खेल जितेमा नेपालले एकदिवसीय मान्यता कायम राख्नेछ ।