
दाङ, ११ फागुन । दाङमा पहिलो पटक आजदेखि अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता शुरु भएको छ । तुलसीपुरको अरनिको मैदानमा भएको उद्घाटन खेलमा नेपाल र भारतका कुस्ती खेलाडीले प्रतिष्पर्धा गरेका छन् । उद्घाटन खेलमा नेपालका खेलाडीले जित हासिल गरेका छन् ।
युथ्स अफ तुलसीपुरको आयोजनामा शुुरु भएको प्रतियोगिता १७ गतेसम्म संचालन हुने युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो । ८ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ३० जना भारतीय पुरुष खेलाडी, २ जना भारतीय महिला खेलाडी र ५ जना नेपाली पुरुष खेलाडी सहित जम्मा ३७ जना खेलाडीको सहभागिता रहेको छ ।
नेपालमा कुस्ती खेलप्रतिको आर्कषण बढाउन दाङमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता आज औपचारिकरुपमा उद्घाटन गरिएको छ । लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उहाँले कुस्ती खेलप्रतिको अभिरुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
त्यस अवसरमा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालले दाङमै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुँदा कुस्तीका खेलाडीलाई हौसला थपिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कुस्ती प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
दाङ जिल्ला खेलकुद विकास समितिका सन्तोष लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा भारतको उत्तरप्रदेशका अन्तर्राष्ट्रिय प्रशिक्षक चन्द्रराम तिवारीले कुस्ती प्रतियोगिताले कुस्ती खेल स्थापित हुन सहयोग पुग्ने बताउनुभयो ।