तुलसीपुर, १८ असोज ।
तुलसीपुर १६ मा भएको टोल स्तरिय फुटबल प्रतियोगितामा गणेशपुर टोल विकास संस्थाले विजयी हासिल गरेको छ । सोमबार भएको फाईनल खेलमा मजगाउँ टोल विकास संस्थालाई ३ का विरुद्ध ४ गोल प्रहार गरि गणेशपुर विजयी भएको हो भने मजगाउँले उपविजेतामा चित्त बुझाएको छ ।
निर्धारित समयमा दुवै टिमको तर्फबाट पहिलो हाप भित्र १/१ गोल भएपछी खेल बराबर भएको थियो । खेल पेनाल्टी सुटमा गएको थियो । पेनाल्टीमा गणेशपुर टोलको तर्फबाट ३ गोल र मजगाउँ टोलको तर्फबाट २ गोल भएको थियो । विजयी गणेशपुरले दस हजार पुरस्कार राशी र प्रमाणपत्र हात पारेको छ भने उपविजेता मजगाउँले पाँच हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
लक्ष्मी माध्यमिक विद्यालय तुलसीपुर १६ लक्ष्मीपुरको खेल मैदानमा भएको खेलमा वडा भित्रका १० टिमको सहभागीता रहेको थियो । सुनौलो सिर्जनशील युथ क्लब तुलसीपुर १६ दाङको आयोजनामा भएको उक्त कार्यक्रममा घैटा फोड् प्रतियोगिताको समेत आयोजना गरिएको थियो । घैटा फोड्को विजेता तुलसीपुर १६ का चेतन वलीले एक हजार नगदसहित प्रमाणपत्र पाएका थिए ।
क्लबका अध्यक्ष विरेन्द्र डाँगीको अध्यक्षता,वडा नं १६ का वडा अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद संयोजक शिवानन्द डाँगीको प्रमुख आतिथ्यता एवम् खो-खो संघ लुम्बिनी प्रदेश उपाध्यक्ष उषा भण्डारी कुवरको विशिष्ट आतिथ्यता भएको समापन कार्यक्रममा विजयी खेलाडीलाई अतिथिहरुबाट पुरस्कार प्रमाणपत्र वितरण गरिएको थियो । साथै विभिन्न कार्यालय र व्यक्ती, खेलमा सहयोग गर्ने सहयोगी दातालाई समेत सम्मान गरिएको छ ।
क्लबका उपाध्यक्ष रमेश गिरीको स्वागत मन्तब्यबाट शुरु भएको समापन कार्यक्रममा कार्यपालिका सदस्य रिखा शर्मा,नेपाली कांग्रेस वडा सभापति लिलाधर वली,लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश खड्का,पारिवारिक निजि वन दाङका अध्यक्ष पदम केसी,शिक्षाप्रेमी भरत केसी, यज्ञ बहादुर केसी, मोहन डाँगी लगायतको आतिथ्यता एवम् मन्तव्य रहेको कार्यक्रमको सञ्चालन तेज विश्वकर्माले गर्नुभएको थियो ।