२०८१ असोज ४ गते शुक्रवार

नेपाली कागजको बढ्यो निर्यात

दाङ, ४ असोज ।
केही वर्ष यता नेपाली कागजको निर्यात बढ्दै गएको भन्सार विभागले जनाएको छ । गएको तीन आर्थिक वर्षको तथ्याङ्क केलाउँदा नेपाली कागज निर्यात बढ्दै गएको देखिएको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २४ करोड १२ लाखभन्दा बढीको कागज निर्यात भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा ३४ करोड ३२ लाखभन्दा बढीको नेपाली कागज निर्यात भएकोमा गत वर्षमा झण्डै १८ करोड बढी अर्थात ५२ करोड ७२ लाखभन्दा बढीको हाते कागज निर्यात भएको हो ।

नेपाली व्यवसायीहरूले उत्पादन गरेको कागज जापान, जर्मनी, फ्रान्स, स्वीडेन, बेलायतसहित चाइनाको तीब्बत क्षेत्रमा बढी माग हुने गरेको छ । नेपाल हाते कागज सङ्घका अनुसार नेपालका हिमाली तथा पहाडी र तराइ क्षेत्रका गरी ५४ जिल्लामा हाते कागज उत्पादन हुने गरेको छ ।

देशभर २ सय ३० भन्दा बढी कागज उद्योग भए पनि परम्परागत शैलीबाटै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको दोलखाका एक जना व्यवसायी हस्त बहादुर भुजेलले बताउनुभयो । अभावका बीच उत्पादन हुने नेपाली कागजको गुणस्तरको जाँच तथा नियमन नहुँदा निर्यात प्रभावित हुने चिन्ता पनि रहेको हाते कागज सङ्घका सचिव भक्तबहादुर बस्नेतले बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडाँैका प्रमुख विष्णुप्रसाद भुसालले व्यवसायीलाई आवश्यक सीप, तालिमसँगै प्रविधि हस्तान्तरण गर्ने सरकारको योजना रहेको बताउनुभयो । नेपाली कागजको उत्पादन बढ्दै गए पनि गुणस्तर कायमका लागि सरकारले अझैँ गर्नुपर्ने काम धेरै भएको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस