दाङ, २१ भदौ
तुलसीपुर-घोराही-लमही चार लेन सडक निर्माणको गति सुस्त छ । सडक निर्माणले गति नलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको छ । निर्माणका क्रममा पुरानो सडक भत्काउँदा सवारी दुर्घटना बढेको छ ।
सडक निर्माणको काम शुरु भएयता २२ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक निर्माणको म्याद चारपटक थप्दा पनि भौतिक प्रगति ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३ प्रतिशत मात्रै भएको छ ।
अहिले पनि काम सन्तोषजनक नभएको र यही अवस्थामा यो योजना सम्पन्न हुने सम्भावना नरहेको भालुबाङ-बाग्दुला-भीमगिठे, चन्द्रौटा-कृष्णनगर तथा लमही-घोराही-तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीका प्रमुख अर्जुनकुमार बमले बताउनुभयो ।
ठेकेदारको लापरबाहीले नै काम हुन सकेको छैन । नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको ऋण सम्झौतामा सडक आयोजना सुरु भएको हो । १ करोड २१ लाख ८२ हजार अमेरिकी डलर बजेट रहेको उक्त सडक निर्माणको ठेक्का भारतको तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ ।
२०७५ माघ १४ मा सम्झौता भएको उक्त योजना २०७७ वैशाख २९ मा सम्पन्न गर्नुपर्ने सर्त थियो । समयमा सम्पन्न नभएपछि २०७८ जेठ ६ गतेसम्म म्याद थप गरियो । त्यसपछि २०७८ साउन २७ मा सक्ने गरी म्याद थप भयो । त्यसपछि फेरि २०७८ पुस १९ गतेसम्म म्याद थप भयो । फेरि २०७९ वैशाख २९ सम्म म्याद थपियो । अब फेरि २०८० असार ३१ गतेसम्म म्याद थप्ने प्रक्रिया थालिएको छ ।
यससँगै सुरु भएको कपिलवस्तुको चन्द्रौटा-कृष्णनगर चार लेन सडकको भौतिक प्रगति ८२ प्रतिशत रहेको आयोजना प्रमुख बमले बताउनुभयो । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक चार लेन र दुई लेनको बन्दै छ ।