दाङ, २० भदौ ।
१४ औ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा विचार गोष्ठि सोमबार बिजौरीमा भएको छ । वन्यजन्तुको संरक्षण गरौ, पर्यावरण संरक्षणमा टेवा पुर्याउ भन्ने मुल नाराका साथ दिवसका अवसरमा कार्यक्रम भएको हो ।
नेपाल पंक्षि संरक्षण संघको सहयोग तथा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङको आयोजना तथा डिभिजन वन कार्यालय दाङको सह-आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गिद्ध संरक्षण दिवस मनाउनुको बारेमा भुपाल नेपालीले प्रकाश पार्नुभएको हो । प्रकाश पार्दैै उहाँले सन् २००५ मा दक्षिण अफ्रिकामा संरक्षण कार्यक्रमको सुरुवात गरेको र सन् २००९ देखि अन्तर्राष्ट्रिय रुपमा यो दिवस मनाउन थालिएको उहाँले बताउनुभयो ।
दक्षिण एसिया सहित नेपालमा पनि डङ्गर, सानो खैरो लगाएत ९ प्रकारका गिद्धहरु रहेको उहाँले बताउनुभयो । गिद्धलाई घातक मानिने डाईक्लोफेनिक लगाएतका औषधी पशुहरुलाई उपचारमा प्रयोग गर्ने र पशु मरेपछि त्यहि सिनो गिद्धले खादा गिद्ध पनि मर्ने गरेको उहाँले बताउनुभयो ।
तर पछिल्लो समय बिस २०६८ जेठ २३ गतेदेखि डाईक्लोफेनिक लगाएत औषधीमा प्रतिबन्ध लगाएको समेत बताउनुभयो । जसका कारण पछिल्लो समय नेपालमा गिद्धको संख्यामा पनि बृद्धि भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले गिद्ध पर्यावरणको कुचिकार भएकाले गिद्धको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो । कार्यक्रममा भुल्के सामुदायीक वनका अध्यक्ष नन्दराम रोका लगाएतले भनाई राख्नुभएको हो ।
पर्यावरणिय दिगो विकास एबम् अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । केन्द्र दाङका सदस्य बालिका तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सागरमणि अधिकारीले गर्नुभएको हो ।