२०८१ असोज ४ गते शुक्रवार

बिमाको लोभमा बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी


दाङ, ७ भदौ ।
दाङमा बिमाको लोभमा बन्दको मौका छोपी चालक र सहचालकले आफ्नै टिप्परमा आगजनी गरेका छन् । विप्लव नेकपासहित चारले मंगलबार आव्हान बन्दको मौका छोपी घोराही-लमही सडकखण्ड अन्तरगर्त बबई पुल नजिककै चालक र सहचालकले आफ्नै टिप्परमा आगजनी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभयो ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उहाँले बताउनुभयो । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उहाँले बताउनुभयो ।

टिपर दुई दिन अगाडिदेखि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको तथ्य यस अघि नै जिल्ला प्रहरीले जानकारी दिइसकेको थियो । गाडी पुरानो भएको र मर्मत गर्दा धेरै खर्च हुन थालेपछि मालिकले नै आगो लगाउन लगाएको तथ्य खुलेको एसपी काफ्लेले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस