२०८० फाल्गुन १५ गते मङ्गलवार

आगामी निर्वाचनमा दाङबाट नौ हजार बढीले पहिलो पटक भोट हाल्ने

दाङ, ३१ साउन ।
दाङमा नौ हजार बढी मतदाता थपिएका छन् । गत असारदेखि साउन १९ गतेसम्म पछिल्लो साढे १ महिनामा ९ हजार २ सय २२ जना मतदाता थपिएका हुन् । ४९ दिनको अवधिमा दाङमा गरिएको मतदाता नामावली संकलन अभियानमा ४ हजार ४ सय ७३ महिला र ४ हजार ७ सय ४९ जना पुरूष नयाँ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय घोराहीका सूचना अधिकारी गेहन्द्र कँुवरले जानकारी दिनुभयो ।

बैशाख ३० को स्थानीय तह निर्वाचनपछि आसार १ गतेबाट सुचारू भएको मतदाता नामावली संकलन अभियान साउन १९ गतेसम्म चलेको थियो । कार्यालयका अनुसार आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि दाङमा ४ लाख १९ हजार ९ सय २४ जना मतदाता कायम भएका छन् ।

जिल्लामा पुरूषको तुलनामा महिलाको संख्या धेरै रहेको छ । निर्वाचन कार्यालय दाङका अनुसार मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुने मततादाहरूमा महिलाको संख्या २ लाख १३ हजार ४६८ रहेको छ । पुरूषको संख्या २ लाख ५ हजार ४१२ रहेको सूचना अधिकारी कुँवरले बताउनुभयो ।

२०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तहमा मतदाता संख्या ३ लाख ३८ हजार ९ सय ४३ थियो । निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतदाता नामावली अनुसार पाँच वर्षको अवधिमा जिल्लाको मतदाता संख्या ८० हजार ९८१ जना थपिएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस