दाङ, ३० साउन ।
फुटपाथको व्यवसायले बजारलाई कुरूप बनाएको र दुर्घटनाको जोखिम बढेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले केही निश्चित स्थानबाट मात्रै ठेला व्यवसाय सञ्चालन गर्ने नीति अघि सारेको छ ।
यसअघिकै जनप्रतिनिधिले तुलसीपुर बजारलाई व्यवस्थित गराउन तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ६ मा रहेको तरकारी बजार र तुलसीपुरको बसपार्कको उत्तरतर्फमात्रै ठेला व्यवसाय सञ्चालन गर्न पाउने गरी निर्णय गरेका थिए । तर बजारका विभिन्न स्थानबाट ठेलामा व्यवसाय हुने क्रम नरोकिएपछि नगरले ठेलाको व्यवसायलाई जफत गरिरहेको छ ।
आइतबार पनि तुलसीपुरका विभिन्न स्थानबाट ठेलाको व्यवसाय जफत गरेको छ । ठेला व्यवसायी र ठेला जफत गर्ने प्रहरीबीच केही झडपको स्थितिसमेत सिर्जना भयो । तर ठेला व्यवसाय गर्नेहरू सरकार र प्रशासनसँग के गर्न सक्थे र ? अन्त्यमा सडकमा गरिएका व्यवसाय उपमहानगरपालिकाले जफत गरिहाल्यो ।
‘सानो लगानीमा गरेर ठेलामा व्यवसायलाई नगरले पटक–पटक दुःख दिने गरेको छ’ ठेला व्यवसायी सुकला साहुले भन्नुभयो– ‘सायद यहि त होला परिवर्तन भनेको ? उहाँले ठूला व्यवसायीले सडकै मिचेर मोटरसाइकल व्यापार गर्ने, निर्माण सामग्री थुपार्ने माथि नगरले टुलुटुलु हेरेरे बसेको तर आफूहरू माथि सधैँ अन्याय गर्ने गरेको बताउनुभयो ।
‘कोहि पनि दुई÷चार पैसा आम्दानी होला भनेर व्यवसाय गर्ने हो’ उहाँले भन्नुभयो– ‘नगरपालिकाले भनेको ठाउँमा दुई पैसाको पनि बिक्री हुँदैन् ।’ उहाँले ठेला व्यवसाय पनि सरकारको नजिकको मान्छले निर्वाध रूपमा गरिरहेको तर आफूहरू पहुँच नहुनेलाई सधैँ लखेट्ने गरेको बताउनुभयो ।
बजारबाट विभिन्न समयमा जफत गरिएका ठेलाले उपमहानगरपालिकाले अगाडितिरको ठाउँ भरिन थालेको छ । तर दीर्घकालिनरूपमा फुटपाथको व्यवसाय व्यवस्थित बन्न सकेको छैन् । उपमहानगरपालिकाले साना फुटपाथका व्यवसायीलाई मात्रै हटाउने गरेको छ । तर सानालाई ऐन ठूलालाई चैन भनेझैँ बजारका विभिन्न स्थानमा सडकै मिचेर निर्माण सामग्री थुपार्ने र व्यवसाय गर्ने ठूला व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन् ।
बजारका मुख्य चोकमा ठेलामा व्यवसाय सञ्चालन गर्दा बजार पनि कुरूप बन्दै गएको र दुर्घटनाको जोखिम पनि बढेकोले ठेला जफत गरिएको तुलसीपुर उपमहानगर–पालिकाका बजार व्यवस्थापन संयोजक तथा उपमेयर स्यानी चौधरीले बताउनुभयो ।
‘सडकमा व्यापार नगर भन्या कत्ति पत्यान्न् त’ उहाँले भन्नुभयो– ‘धेरै पटक फुटपाथमा व्यवसाय नगर्न सूचना जारी गरिम, तर अटेर गरेपछि जफत ग¥या छम् ।’ उहाँले साना ठूला व्यवसाय कसैले पनि सडकमा व्यापार गर्न छुट नरहेको बताउनुभयो ‘ठूला व्यापारी जसले सडकमा मोटरसाइकल, निर्माण सामग्री थुपारेको छ’ उहाँले भन्नुभयो – ‘सबैलाई सडकबाट हटाउँछौँ, अटेर गरे कारबाही गछौँ ।’
आइतबार तुलसीपुरको शितलपुर रोड, मदनआश्रित चोक, बसपार्कलगायतका स्थानबाट ठेला जफत गरिएको हो । फलफूल तथा तरकारी बिक्रीका लागि निश्चित स्थान तोकिदा पनि बजारका विभिन्न स्थानमा छरिएर व्यवसाय गर्न थालेपछि ठेला जफत गर्ने गरिएको नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो ।
‘हामीले त निश्चित ठाउँबाट व्यापार गर्नुस् भनेकै छौँ, तर अटेर गरेपछि आइतबार ट्राफिक प्रहरीले जफत गरेको छ’ उहाँले भन्नुभयोे– ‘अब सबै साना ठूला व्यवसाय सडकबाट हटाउँछौँ ।’ उहाँले फलफूल तथा तरकारी बिक्रीका लागि उपमहानगरपालिकाले वडा नम्बर ६ को सब्जीमण्डी र नयाँ बसपार्कको उत्तरतर्फ तोकिएको बताउनुभयो ।