दाङ, ३० साउन ।
दाङमा पछिल्लो समय किशोरी लक्षित आत्मरक्षा सम्बन्धी तालिम दिने क्रम बढिरहेको छ । किशोरीहरुका लागि दिइने यस्ता आत्मरक्षा सम्बन्धी तालिमले बालविवाह तथा लैंगिक हिंसा विरुद्ध आवाज उठाउन सहज भएको छ ।
पालिकाहरूले पनि पछिल्लो पटक किशोरीहरूको लागि यस्तो खालको तालिम प्रदान गर्नको लागि बजेट छुट्याउने गरेका छन् । दाङका ग्रामिण क्षेत्रका किशोरीहरूलाई आत्मरक्षा तालिमसँगै नेपालको संविधानले व्यवस्था गरेको कानूनी पक्षका बारेमा पनि सचेतना प्रदान गर्ने काम भईरहेको छ । दाङको दङ्गीशरण गाउँपालिकामा विभिन्न ७ वटा विद्यालयमा अध्ययनरत किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम दिएपछि किशोरीहरू उत्साहित भएका छन् ।
दाङका विभिन्न विद्यालयमा ८ देखि कक्षा १२ सम्म अध्ययनरत किशोरीहरूलाइ लक्षित गर्दै आत्मरक्षाको तालिम दिइएको छ । तालिममा यौनजन्य हिंसाका बारेमा जानकारी दिने गरिएको छ भने यसलाइ प्रतिकार गर्ने तरिका समेत सिकाउने गरिएको छ । जसका कारण किशोरीहरू आत्मविश्वासी बन्न थालेका छन् । हालसम्म दाङमा २ हजारभन्दा बढी किशोरीहरूले आत्मरक्षा सम्बन्धी तालिम लिएका छन् ।
तालिमबाट बालिका तथा किशोरीहरूले हिंसा, हिंसाबाट जोगिने उपाय, नेपालको संविधान र कानुनी प्रावधान, सार्वजनिक स्थानमा ध्यान दिनुपर्ने कुराहरू, केही अफ्ठेरो परिहालेमा प्रतिकार गर्ने तरिका लगायत बारेमा सिक्ने गरेका छन् । आत्मरक्षाको तालिम दिलाउनको लागि पालिकाहरूले पनि सहयोग गरेका छन् ।