दाङ, ३० असार ।
दाङकी निशा चौधरीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान रच्नु भएको छ । जुनियर स्पर्धाका खेलाडीले सिनियरतर्फको राष्ट्रिय कीर्तिमान बनाउनु निकै ठूलो उपलब्धी थियो । सन् २०१८ मा एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड बुधबारदेखि निशाको नाममा सरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका १६ भेलाही गाउँकी निबासी १७ वर्षीया निशा बिना प्रशिक्षण पहिलोपल्ट काठमाडौं पुगेर दशरथ रंगशालामा दौडिनु भएको हो । फिल्ड विधामा नयाँ कीर्तिमान बनाउन सफल निशाले ट्र्याकमा पनि आफू सहभागी सबै स्पर्धामा स्वणर् जित्न सफल हुनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वणर् जित्दा ३ स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । १ सय मिटर दौडमा १२.५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान हो ।
त्यस्तै निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेण्डको टाइमिङमा स्वणर्सहित जुनियर कीर्तिमान कायम गरेका थिए । निशाले पद्यमा चौधरी गुरुले प्रशिक्षण गराउनुभएको बताउनुभएको छ । १२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो ।