दाङ-
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । यो सँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । नामिबिया पाँचौ स्थानमा उक्लिएको छ ।
जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १ सय ८० रनमा अलआउट भयो । नेपालले दोस्रो खेल भोली स्कटल्यान्डसँग खेल्नेछ । तेस्रो खेलमा नामिबियासँग आउँदो शनिबार र अन्तिम खेलमा स्कटल्याण्डसँग आइतबार खेल्ने तालिका छ ।
समान ३६ खेल खेलेपछि लिग-२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन-जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग-२ को चौथो र पाँचौ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।
अंक तालिकामा नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हारसहित १६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १७ खेलमा ७ मा जित, ९ मा हार र एकमा बराबरीका साथ १५ अंक जोड्दै छैटौँ स्थानमा झरेको छ ।