दाङ, १९ कात्तिक । सडक दुर्घटना र लागू पदार्थ दुर्व्यसनको जोखिम बढ्दै गइरहेका बेला तुलसीपुरमा विद्यार्थी तथा युवालाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
राप्ती परोपकार सङ्घ नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियमको पालना, लागू पदार्थ दुर्व्यसन र मादक पदार्थ सेवनबाट हुने असरबारे जानकारी गराइएको हो।
कार्यक्रममा तुलसीपुर क्षेत्रका आठवटा विद्यालयका तीन सयभन्दा बढी विद्यार्थीका साथै यातायात व्यवसायी, सवारी चालक तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले सडक दुर्घटना र दुर्व्यसन दुवै सामाजिक चुनौतीका रूपमा देखिएकाले यसको न्यूनीकरणका लागि विद्यार्थी अवस्थादेखि नै सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले दुर्घटना न्यूनीकरण चालकको मात्र जिम्मेवारी नभई यात्रु, यातायात व्यवसायी र सडक प्रयोगकर्ता सबैको साझा दायित्व भएको बताएका छन्।
प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले सडक सुरक्षा र लागू पदार्थ दुर्व्यसन नियन्त्रणका लागि युवा तथा विद्यार्थीलाई केन्द्रमा राखेर सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले ट्राफिक नियमको पालना गर्न र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन सबैलाई आग्रह गर्नुभयो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले लागू पदार्थ दुर्व्यसनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र सामाजिक जीवनमा समेत गम्भीर असर पार्ने बताउनुभयो। उहाँले विद्यार्थी तथा युवालाई दुर्व्यसनबाट जोगाउन समयमै जोखिमबारे जानकारी गराउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शम्भु धितालले तीव्र गति, लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति र ट्राफिक नियमको उल्लङ्घन दुर्घटनाका प्रमुख जोखिम भएको बताउनुभयो। उहाँले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न चालकहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, ट्र्याक्टर व्यवसायी समिति दाङका उपाध्यक्ष दोर्ण देवकोटा, लुम्बिनी स्मार्ट स्कुलका अध्यक्ष मोहन स्वर्णकार र सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज विकलगायतले पनि सडक अनुशासन र दुर्व्यसन नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभएको थियो।
सङ्घका अध्यक्ष सञ्जयकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सुरुवात उपाध्यक्ष गोरखबहादुर ओलीको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक ओदबहादुर भण्डारी (गणेश) ले गर्नुभएको थियो।


