२०८३ असार ७ गते आइतवार

कपुरकोटमा करदाता शिक्षा कार्यक्रम


​कपुरकोट, १५ बैशाख । सल्यानको कपुरकोट गाउँपालिकाले आज मंगलबार वडा नम्बर ३ को बजार क्षेत्रमा व्यवसायीहरूका लागि एक दिवसीय करदाता शिक्षा कार्यक्रम गरेकाे छ।


स्थानीय व्यवसायीहरूलाई कर प्रणाली, यसको महत्त्व र प्रक्रियाबारे सचेत गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।


​कपुरकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रदिप खड्काको अध्यक्षता तथा कपुरकाेट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।


प्रमुख अतिथि भण्डारीले पालिकाको विकासका लागि करको ठुलो योगदान रहने चर्चा गर्दै व्यवसायीहरूलाई राज्यको कर प्रणालीमा आबद्ध हुन आग्रह गर्नुभयो।

​कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको उपस्थिति रहेको थियो। उहाँले कर तिर्नु नागरिकको दायित्व मात्र नभई व्यवसायको वैधानिकता र सुरक्षासँग पनि जोडिने विषय भएको बताउनुभयो।


त्यस अवसरमा उपस्थित स्थानीय व्यापारी तथा व्यवसायीहरूले कर तिर्ने प्रक्रियामा भोग्नुपरेका झन्झट, करको दर र पालिकाबाट व्यवसायीले पाउने सेवा सुविधाहरूका बारेमा आफ्ना जिज्ञासा र सुझावहरू राखेका थिए।


व्यवसायीहरूले उठाएका प्रश्नहरूको सम्बोधन गर्दै जनप्रतिनिधि र कर्मचारीहरूले आगामी दिनमा कर प्रणालीलाई अझ सहज र जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस