सल्यान, ७ वैशाख । ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तुः जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ सल्यानमा वन्यजन्तु सप्ताह २०८३ मनाइएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजनामा सोमबार कपुरकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
डिभिजन वन कार्यालय सल्यानका अधिकृत अञ्जना शर्माको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै जैविक विविधताको संरक्षणमा जोड दिएका थिए । उनीहरूले प्रकृति र वन्यजन्तुको संरक्षण बिना मानव अस्तित्व र समृद्धि सम्भव नभएको धारणा राखेका थिए ।
कार्यक्रममा कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रदीप खड्का, वडा नम्बर ६ का वडा अध्यक्ष श्यामकृष्ण बोहरा, साना किसान कृषि सहकारी कपुरकोटका प्रबन्धक जितप्रसाद आचार्य, अदुवा बाली अनुसन्धान केन्द्रका लक्ष्मण रोका र वनस्पति अनुसन्धान केन्द्रका दामोदर दाहालले आ–आफ्नो धारणा राख्नुभएको हो ।
त्यस्तै, स्थानीय वन महासंघका अध्यक्ष खडक केसी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य घनश्याम शर्मा, जिल्ला महासंघका महासचिव अरुणा खत्री र भिमा बुढाथोकी लगायतले वन्यजन्तु संरक्षणका चुनौती र स्थानीय समुदायको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा कपुरकोट क्षेत्रका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले वन्यजन्तुको चोरी–निकासी नियन्त्रण र बासस्थान संरक्षणका लागि सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।




