कपुरकोट, १५ बैशाख । सल्यानको कपुरकोट गाउँपालिकाले आज मंगलबार वडा नम्बर ३ को बजार क्षेत्रमा व्यवसायीहरूका लागि एक दिवसीय करदाता शिक्षा कार्यक्रम गरेकाे छ।
स्थानीय व्यवसायीहरूलाई कर प्रणाली, यसको महत्त्व र प्रक्रियाबारे सचेत गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कपुरकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रदिप खड्काको अध्यक्षता तथा कपुरकाेट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।
प्रमुख अतिथि भण्डारीले पालिकाको विकासका लागि करको ठुलो योगदान रहने चर्चा गर्दै व्यवसायीहरूलाई राज्यको कर प्रणालीमा आबद्ध हुन आग्रह गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको उपस्थिति रहेको थियो। उहाँले कर तिर्नु नागरिकको दायित्व मात्र नभई व्यवसायको वैधानिकता र सुरक्षासँग पनि जोडिने विषय भएको बताउनुभयो।
त्यस अवसरमा उपस्थित स्थानीय व्यापारी तथा व्यवसायीहरूले कर तिर्ने प्रक्रियामा भोग्नुपरेका झन्झट, करको दर र पालिकाबाट व्यवसायीले पाउने सेवा सुविधाहरूका बारेमा आफ्ना जिज्ञासा र सुझावहरू राखेका थिए।
व्यवसायीहरूले उठाएका प्रश्नहरूको सम्बोधन गर्दै जनप्रतिनिधि र कर्मचारीहरूले आगामी दिनमा कर प्रणालीलाई अझ सहज र जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।




