२०८३ साउन ३ गते आइतवार

देशका अधिकांश ठाउँमा आज पनि वर्षाको संभावना, केहि ठाउँमा भारी वर्षा हुने


दाङ, २७ साउन । दाङसहित देशभर आज पनि वर्षाको संभावना रहेको छ । दाङ उपत्यकामा अहिले बिहानको समयमा घाम लागेको छ । तर दिउँसोतिर वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा सातवटै प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस