लगातार वर्षापछि चलेको भीषण बाढीबाट अफगानिस्तानमा जनजीवन नराम्ररी प्रभावित भएको छ । शनिबार दिउँसोसम्म बाढीका कारण ८० जनाभन्दा बढीको ज्यान गएको सत्तारुढ तालिबानले जानकारी दिएको छ ।
बाढीमा सयौं मानिसहरू घाइते भएका र हराइरहेका पनि बताइएको छ । राजधानी काबुलस्थित संयुक्त राष्ट्र संघ कार्यालयले पनि बाढीका कारण भएको मानवीय हताहतीबारे जानकारी दिइरहेको छ ।
बाढीबाट बगलान प्रान्तवासी बढी प्रभावित भएका छन् । बाढीमा फसेका सयौं मानिसहरूलाई तत्काल उद्दार गर्नुपर्ने स्थिति छ ।
अफगानिस्तानको गृह मन्त्रालयले बाढीपीडित उद्धार गर्न शुक्रबार राति हेलिकोप्टर पठाइएको, तर जडित लाइटको क्षमताले उडान निरन्तरता दिन नसकेपछि फर्काइएको जनाएको छ ।
बगलानमा बाढीबाट दुई हजारभन्दा बढी घर, तीन मस्जिद र चार विद्यालयमा निकै क्षति पुगेको छ । बाढीको जोखिमकै कारण तालिबान सरकारले उत्तरी अफगानिस्तानलाई काबुलसँग जोड्ने सडक बन्द गरिदिएको छ ।
बाढी प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा व्यवस्था गरेको तालिबानले जनाएको छ ।