दाङ, २७ जेठ । गर्मी बढ्दै जाँदा जनजीवन कष्टकर बनेको छ । अत्याधिक गर्मी बढेपछि दैनिक ज्याला मजदुरी गरे खाने वर्ग समस्यामा परेका छन् । दिउँसोको समयमा काममा निस्कनै मूस्किल पर्ने गरेको छ । विद्यालय पनि बन्द भएका छन् ।
ठुलो पानी नपर्दा र मनसुनी गतिबिधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ । हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ ।
मौसमविद वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना छ । पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी बिस्तारै घट्दै जाने उहाँको भनाइ छ । तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिबिधि बढ्न सक्ने उहाँले बताउनुभयो ।
तातो हावाबाट बच्न घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् ।