२०८१ फाल्गुन ७ गते बुधवार

चलचित्र ‘एक्टर टेक वन’ दर्शकमाझ लोकप्रिय, प्रदीप खड्का उत्साहित

दाङ, २२ माघ । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा चलचित्र ’एक्टर टेक वन’ का कलाकारहरूसँग साक्षात्कार कार्यक्रम गरिएको छ ।

भिएफएस सिनेमाज, नारायपुरमा आयोजित कार्यक्रममा अभिनेता प्रदीप खड्का, अभिनेत्री दिव्या रायमाझी र निर्माता थम्मन कुमार भण्डारीलगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले चलचित्र हेरेर दर्शकहरूलाई प्रतिक्रिया दिन आग्रह गर्नुभयो । ‘सकारात्मक प्रतिक्रिया पाइरहेको छु । यसले मलाई उत्साहित बनाएको छ ।’ उहाँले भन्नुभयो–‘आम दर्शकको प्रतिक्रियाले चलचित्र उद्योगमा अझ राम्रो चलचित्रहरू बनाउन ऊर्जा थपिएको छ ।’

त्यस्तै, अभिनेत्री दिव्या रायमाझीले आफ्नो पहिलो चलचित्र हेरेर दर्शकहरूले दिएका सकारात्मक प्रतिक्रियाले आफूलाई अझ राम्रो काम गर्नुपर्ने चुनौती थपिएको बताउनुभयो ।

साक्षात्कार कार्यक्रममा कलाकारहरूले चलचित्रको अनुभव, छायांकन प्रक्रियाका चुनौतीहरू र नेपाली फिल्म उद्योगको सम्भावनाका विषयमा चर्चा गर्नुभयो । चलचित्र ‘एक्टर टेक वन’ यतिबेला देशभर प्रदर्शन भइरहेको छ । चलचित्रले आम दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार दीपक कुमालले नेपाली चलचित्र उद्योगका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो । संघका सदस्य एकराज भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष भुपेश वलीले गर्नुभयो ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस