
सल्यान, २६ मंसिर । कपुरकोट गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईको आयोजनामा, दलित विकास समाज र आईएमको सहयोगमा भएको कार्यक्रममा र्याली तथा पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
‘सभ्य र सुसंस्कृत समाज निर्माणमा हाम्रो भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा ६ वडाबाट छानिएका ११ जना प्रतियोगीबीच प्रतिस्पर्धा गरिएको थियो ।
प्रतियोगितामा कपुरकोट-५ की भूमिका बुढाथोकी प्रथम, कपुरकोट-६ का लुद्रविर खड्का द्वितीय र कपुरकोट-२ की दीक्षा वली तृतीय हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ३०००, २५००, र २००० सहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । यस्तै सान्त्वना पुरस्कार कपुरकोट-४ की राधिका बुढामगरले प्रमाणपत्र प्राप्त गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा कुमारी ओलीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीको विषेश उपस्थितिमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभाका सदस्य, दलित विकास समाजका जिल्ला संयोजक प्रशान्त परियार र सामाजिक परिचालक प्रकाश वलीलगायतको उपस्थिति थियो ।
मंसिर १४ गतेदेखि वडास्तरबाट सुरु भएको अभियानलाई मंगलबार समापन गरिएको हो । अभियानका क्रममा प्रत्येक वडा कार्यालयमा वक्तृत्वकला प्रतियोगितासहित विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । लैङ्गिक हिंसाविरुद्ध सचेतना जगाउन सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेसँगै भविष्यमा पनि कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।