दाङ, २२ कार्तिक । दाङमा अवैध हातहतियार र खरखजना सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमही नगरपालिका वडा नंम्बर ३ बनगाँउ हरियालीटोलका ४० वर्षका गणेश कुमाल रहेका छन् ।
कुमालले आफ्नै घरमा अवैध हातहतियार तथा खरखजनाहरु लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा प्रहरी टोलीले खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा हातहतियार तथा खरखजानाहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।
प्रहरी टोलीले कुमालको घरमा खानतलासी गर्दा विभिन्न अवैध हातहतियार र खरखजना फेला पारेको डिएसपी थापाले बताउनुभयो । कुमालको घरबाट चालु अवस्थामा रहेको खाली बट, सिलिङ सहितको भरुवा बन्दुक एक थान, खाली फक्स लेखेको सिलिङ सहितको भरुवा बन्दुक नाल एक थान, बेचालु अवस्थाको भरुवा बन्दुकको काठको बट एक थान, बेचालु अवस्थाको भरुवा बन्दुक नाल एक थान, फलामको भरुवा बन्दुकको नाल बनाउन प्रयोग हुने फलामको पाईप एक थान, कालो झोला भित्र लुकाई छिपाई राखेको भरुवा बन्दुकमा प्रयोग हुने सिल्भरको बट्टामा रहेको ११९ ग्राम ३६० मिलिग्राम भएको कालो रङको बारुद जस्तो देखिने धुलो पदार्थ भएको डिब्बा एक थान फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै भरुवा बन्दुकमा प्रयोग हुने सिल्भरको बट्टामा रहेको ९२ ग्राम ८७० मिलिग्राम भएको कालो रङको बारुद जस्तो देखिने धुलो पदार्थ भएको डिब्बा एक थान, प्लाष्टिकमा रहेको १३५ थान छर्रा, केप १८ थान, रोल केप रोल एक थान, ठुलो गोली २९ थान र भरुवा बन्दुकमा प्रयोग हुने सुतीको लत्ता २ थान रहेको प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका कुमालमाथी थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।