सल्यान,२१ कार्तिक । तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिने जिल्लाको कपुरकोट गाउँपालिका-३ कपुरकोट बजारमा १० मेटिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ ।
नर्वेजीयन राजदूतावासको आर्थिक सहयोगमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रको साझेदारीमा संचालित नवीकरणीय उर्जा व्यवस्थापन तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत कपुरकोट गाउँपालिकाको सहकार्यमा ५० लाख अनुदानमा उत्पादित तरकारी भण्डारण गर्न विद्युत् तथा सोलारबाट चल्ने कोल्डस्टोर निर्माण गरिएको हो ।
कपुरकोट गाउँपालिका बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा विगतदेखि परिचित छ । त्यहाँका ५ हजारभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् ।
उनीहरुले वार्षिक तरकारी बिक्री गरेर ३० करोडभन्दा बढी भित्र्याउँदै आएका छन् । हाटबजार परिसरमै चिस्यान भवन निर्माण भएपछि तरकारी उत्पादन गर्ने किसान तथा बाहिरी जिल्लाबाट तरकारी खरिद गर्न आउने व्यापारीलाई धेरै राहत भएको छ । एक दशकपछि माग पूरा भएपछि किसानहरु खुसी भएका छन् ।
तरकारी बिक्रि नभएको अवस्थामा कुहिएर खेर जानुभन्दा सस्तोमा बिक्री गर्नपर्ने बाध्यताको अन्त्य गर्नुका साथै व्यापारीले एकै पटक धेरै लान नसकेका तरकारी एक/दुई दिनका लागि भण्डारण गरेर राख्न, विपद्मा सडक अवरुद्ध भएका बेला बिक्री नभएर तरकारी त्यत्तिकै खेर जानबाट बचाउन कोल्डस्टोर निर्माण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार कोल्डस्टोरले कपुरकोट पालिकाभित्रका ५ हजार किसान र तरकारी खरिद गर्न आउने व्यापारी यसबाट प्रत्यक्ष लाभान्वित भएका छन ।
किसानले एकदशकदेखि राख्दै आएको कोल्डस्टोरको माग पूरा भएको छ । कोल्डस्टोर निर्माणको लागि गाउँपालिकाको ५ लाख अनुदान दिएको उहाँको भनाइ छ । कपुरकोट तरकारी उपज तथा हाटबजार केन्द्रका अध्यक्ष तीलक शर्माले कोल्डस्टोरले किसान र व्यापारी दुवैलाई धेरै सहज भएको बताउनुभयो ।