२०८१ मङ्सिर २२ गते शनिवार

बिजयको सपना र हाम्रो जिम्मेवारी

देश विकासका लागि आवश्यक ज्ञान, सीप, र प्रतिभा बोकेर एउटा व्यक्ति जन्मिन्छ । जन्मजात प्रतिभालाई हाम्रो समाजले थप वृद्धि गर्दै निखार्ने वातावरण बनाउने कि उसलाई त्यत्तिकै मर्न दिने ? उसको प्रतिभालाई मलजल गरेर देशलाई चिनाउन त सकिन्छ नै, साथसाथै त्यो क्षमतालाई सकारात्मक कार्यमा लगाएर गाउँ समाजको समृद्धिमा खर्च गर्ने कि ?

हामीले उसलाई प्रोत्साहन र समर्थन नदिएर, उसको प्रतिभालाई विर्सेर फोहोरको डब्बामा फ्याँक्ने ?

कल्पना गर्नुहोस्, एक जना युवा तपाईको सामु आइपुग्छन् र भन्छन्, ‘मसँग केही ज्ञान छ, केही सीप छ, गाउँ समाजलाई योगदान दिन । मसँग थोरै कला छ, थोरै भिजन छ देशलाई चिनाउने । मलाई विश्वास गर्नुहोस् । मलाई काम गर्ने वातावरण दिनुहोस् । मेरो आर्थिक अवस्था कमजोर छ, मलाई मेरो आविष्कार परीक्षण गर्न अवसर दिनुहोस् ।’

यस्तो अवस्थामा, तपाईँ के गर्नुहुन्छ ? स्थानीय सरकारले के गर्ला ? यो प्रश्नको उत्तर दिन गाह्रो छ, तर यो निश्चित छ कि हामी सबैको जिम्मेवारी छ ।

मैले कतै सुनेको थिएँ । धेरै दिन देखि भोकै भएको मान्छे छ भने उसलाई खानदिने र उसलाई भोक भोकै मर्न नदिने जिम्मेवारी सिडियोको हुन्छ रे । तर मैले माथि पृष्ठभुमीमा भने जस्तो एउटा युवा यसरी आयो भने यो कसको जिम्मेवारी हुन्छ होला ? अहिलेको विज्ञान र प्रविधिको चरम विकासको समयमा पनि संघिय सरकार संगको हाम्रो दुरी त लामो नै होला र पहुँच पनि पुग्दैन होला ? यसको मतलव स्थानीय सरकारको जिम्मेवारी होला त यो ? सोच्दै गर्नुहोस् ।

अनि यति भन्दै गर्दा, यसले गर्नुपर्र्ने उसले गर्नुपर्ने भन्दै गर्दा, तपाई हाम्रो जिम्मेवारी चैँ के ? जे होस् म कुरा गर्दैछु सल्यानका युवा वैज्ञानिक बिजय राना मगरको ।

  • सानै उमेर देखि जानी नजानी विज्ञान र प्रविधिका क्षेत्रका हानिएका बिजयको अहिले नेपालमै नभएको सिस्टममा आधारित एअर डुङ्गा चलाउने हुट्हुटी रहेको छ ।

दुई/तीन महिना अगाडी नै शारदा नदीमा उनले भनेको एअर डुङ्गाको पाईलट टेस्ट पनि भइसकेको छ । सैद्धान्तिक पढाईमा त्यत्ति रुची नराख्ने उनी अहिले आफ्नो योजनालाई मुर्तरुप दिनका लागि विभिन्न ठाउँमा सहयोग रकम उठाउँदै हिँडिरहेका छन् ।

उनको यो अभियानलाई साथ दिन आसपासका जिल्लाका विज्ञानमा रुची राख्ने साथीहरु पनि जोडिएका छन् । यही अभियानकै क्रममा उनी अहिले दाङको तुलसीपुरमा रहेका छन् ।

बुझ्नेले बुझेको हुन्छ ज्ञान अनि सीपको महत्व भने झैं तुलसीपुरका ज्ञानज्योति, हिमाल, सक्सेसिभ लगायतका ख्याति प्राप्त स्कुल तथा कलेजले उनको ज्ञानसिपलाई भरपुर प्रयोग गरिरहेको छ । बिहान बेलुका दिउँसो उनी व्यस्त छन् ।

उनले विद्यार्थीलाई सिकाउँछन् । उनले तुलसीपुर दाङको टरिगाउँ एअरपोर्टमा जहाजसमेत बनाएर उडाईसकेका छन् । ज्ञान ज्योतिमा ड्रोन उडिसकेको छ भने अन्यड्रोन, पानी डुङ्गा, विद्युत वायरिङ् लगायत धेरै प्रोजेक्टमा विद्यार्थीलाई प्रत्यक्ष रुपमा गाईड गरिरहेका छन् उनी । त्यसो त उनले गरेका आविस्कारहरुको लामै सुची छ । उनले के के बनाएका छन् ? भन्नु भन्दा पनि के बनाएका छैनन् भन्दा उपयुक्त हुन्छ जस्तो लाग्छ ।

उनले बम, मिसाईल, जलविद्युत, रकेट जस्ता धेरै प्रोजेक्टहरु सफल परिक्षण गरीसकेका छन् ।

केही नयाँ चीज वस्तु देख्ने बित्तिकै के कसरी किन ? संग संगै आफुले कसरी बनाउन सकिन्छ भनेर फिल्डमा उत्रिहाल्ने बिजयले पूर्वको ईलाममा एउटा चिल्ड्रेन पार्कको लागि पानीजहाज र रोवर्ट बनाएर सबैलाई आश्चर्य चकित बनाएका थिए ।

त्यो बेलामा उनले सबैको ध्यानाकर्षित गरेका थिए । त्यै बेलामा हो उनलाई अलि ठुला मिडियाले कभरेज गरेको पनि र मैले चिनेको पनि ।

सल्यान घर रहेछ उनको । मैले थाहा पाएँ उनको बारेमा अलि बढि र, सायद अरुले पनि नजिकबाट चिनेको पनि यै बेलाबाट हुनुपर्छ । सल्यान घर । तपाईलाई अझै पनि पुर्व तिर काठमाण्डौ तिरकाले घर कहाँ हो ? भनेर सोध्दा परिचयगर्दा सल्यान भन्दा प्रायले थाहा पाउँदैनन्, चिन्दैनन सल्यान जिल्लालाई ।

यो भोगाईमा उनको र मेरो एउटै रहेछ । दाङ संग सिमाना जोडिएको जिल्ला । ए त्यो दाङ देखि माथितिर क्या । दाङको नजिकै त छ भन्नुपर्ने अवस्था छ, बाध्यता छ । कैलेकाहीँ त पढेलेखेका शिक्षित भनाउँदाहरुले पनि यस्तै जवाफदिँदा कमनसेन्स छैन् ? सामान्य ज्ञान पनि छैन भनेर धेरैलाई आफ्नो सान बढाएको पनि छु मैले ।

नेपालमा कति वटा जिल्ला छन् । त्यत्ति सम्म पनि थाहा छैन् अहिलेसम्म ? अरु के पढ्छौ ? त्यसो भए के का लागि घमण्ड गर्छौ यार । यस्तै भनेर जिस्काँउथे मैले ।

मैले यो किन जोड्न खोजेको भने उनीसंग सल्यान चिनाउने सीप छ । सल्यान चिनाउने कला छ । विद्यार्थीलाई सिकाउने, आफुले गर्ने आफ्नै सुत्र छ उनको । आफ्नै फर्मुला छ उनको ।

उनले यस्तै मनोरञ्जन, कृषि, स्वास्थ्य, समाज संग सम्बन्धित तथा विद्यालय शिक्षालाई जोड्ने आविस्कारहरु गर्दै गए भने सल्यानमात्रै हैन नेपाललाई नै अन्तर्राष्ट्रिय रुपमा चिनाउने ल्याकत राख्न सक्छन् ।

आविस्कार तथा रोजगारीको क्रममा भारत र चिनको भ्रमण गरिसकेका उनी भन्छन् । सल्यान जिल्ला नै नचिन्ने भन्ने पनि हुन्छ त ? अब म मेरो आविस्कारले चिनाउँछु सल्यान जिल्लालाई । मैले आविस्कार गरेँ भने र गर्नको लागि सबैले साथ दिनुभयो भने म सक्छु आफ्नो क्षमता प्रदर्शन गर्न, जहाँबाट सल्यानको नाम रोशन हुन्छ ।

मैले गरेको आविस्कार हेर्न धेरै ठाउँबाट आउँनुहुन्छ र विस्तारै पर्यटकिय स्थलको रुपमा चिनाउन सकिन्छ । निराजन माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषय लिएर औपचारिक अध्ययन गर्दै गरेका बिजयको अहिलेको सपना भनेको सल्यानी एअर डुङ्गा चलाउने हो ।

विद्यालयका विद्यार्थी गई प्रयोगात्मक अध्ययन अनुसन्धान गर्ने साईन्स म्युजिएम बनाउने उनको भविष्यको ड्रिम प्रोजेक्ट त छँदै छ अहिलेको जल्दो बल्दो यो प्रोजेक्ट गर्न पाए केहीहदसम्म सन्तुष्ट हुन्थे उनी भने अझै थप गर्ने हौसला प्रेरणा पनि मिल्थ्यो ।

मध्यमवर्गीय परिवारबाट प्रतिनिधित्व गर्ने बिजय यो सपनालाई साकार पार्न स्थानीय, प्रदेशतिरका कार्यालयमा नधाएका भने हैनन् । उनका योजना र कार्यमा कस्को चासो र चिन्ता ? बरु हलानो फलानो पाटीका कुरा गरेर वास्तै गरेनन् । यसै क्रममा प्रयोगात्मक विज्ञानका ज्ञान, सीप, आविस्कार तथा उनको अभियानलाई सहयोग गर्ने उद्देश्य सहित जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोेट ५ रिम सल्यानले श्रावण महिनाको दोस्रो अन्तिम दिनको अतिथि कक्षाको लागि अतिथिको रुपमा बिजय राना मगरलाई निमन्त्रणा गरेको थियो ।

क्लासमा उनले आफ्ना बालापन, पढाई, अनुभव तथा आफ्ना योजनाहरु प्रस्फुटन गरेका थिए । विद्यार्थीहरुले उनका अनुभुतिहरु हाँसीहाँसी चाख लिँदै सुनेका थिए । बिजयका अनुसार फलाम नै फलामले बन्ने एअर डुङ्गा एक टनको हुनेछ भने यसको जम्माजम्मी खर्च ४ लाख ५० हजार हुनेछ ।

यस्तो प्रकारको डुङ्गा अहिलेसम्म नेपालमै नबनेको जिकिर गर्दै आफुले फरक बनाउने र उक्त डुङ्गा बनाउन ५० हजार ऋण लिएर शुरु गरेको बताए । साथै अहिले डुङ्गा बनाउने ईञ्जिन समेत भारत बाट ल्याईसकेको र अब १ लाख ४७, हजार भएमात्रै पुग्ने उनको दावि छ ।

उक्त क्लासमा उनको डुङ्गा चलाउने सपनालाई साकार पार्न विद्यार्थी तथा शिक्षक स्टाफहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका थिए । जस मध्ये विद्यार्थीहरुले ८ हजार १८५, शिक्षक स्टाफहरुले १० हजार २९०, विद्यालयले २ हजार ५५० तथा अन्यबाट २ हजार ००५ गरि जम्मा २३ हजार ३० सहयोग रकम विद्यालयले हस्तान्तरण गरेको थियो ।

उक्त क्लासमा उनले एक/एक हिसाब गरेको छु, कसैको एक रुपैयाँपनि खेर जाने छैन भनेर आफ्नो विस्वास व्यक्त गरेका थिए ।

तर उनलाई काम गर्ने वातावरण बनाउन आवश्यक छ पहिला । हामी आफूले पनि नगर्ने अनि अरुलाई पनि गर्न हौसला साथ सपोर्ट नगर्ने । अनि कसरी हुन्छ समाजको प्रगति ? कसरी हुन्छ देशको उन्नति । कसरी हुन्छ जनशक्तिको संरक्षण ?

अब हामी जाग्नैपर्छ ? अब एक मिनेट पनि ढिला गर्ने छुट छैन् हामीलाई । सम्बृद्धिका नारा खोकेर मात्र पुग्दैन् । अब हामीले बिजयलाई साथ सपोर्ट दिनैपर्छ । के गरेर हुन्छ ? कसरी हुन्छ ?

आआफ्नो क्षेत्र र लेवलबाट जति सकिन्छ त्यति । जे सकिन्छ त्यो । जे गरेर हुन्छ त्यो गरेर । जहाँबाट हुन्छ त्यहाँबाट । यो अवसरलाई गुम्न दिनुहुँदैन । यो अवसरलाई भरपुर प्रयोग गर्न सक्नुपर्छ । मनैदेखि सल्यानी हो भने यो एउटा सुनौलो अवसर हुन सक्छ । यो अवसर हामीलाई भोलीका दिनमा प्राप्त नहुन पनि सक्छ ।

किनभने यत्तिका प्रतिभावान व्यक्तिहरुको जन्म युगमा एकचोटी हुन्छ । बेलैमा समयको सदुपयोग गरौँ ।

समयले हामीलाई नसरापोस् पछि । हामी जत्तिको मान्छेहरुले यो हाम्रै प्रोजेक्ट हो भनेर, यो आफ्नै काम हो भन्ठानेर यो हाम्रै जिम्मेवारी भन्ठानेर लागिएन भने हामीले जीवनमा सबै गरेको पनि व्यर्थ छ । हामीले अहिलेसम्म जे जे गर्‍यौँ आप्mना लागि गर्‍यौँ। अब थोरै अरुका लागि गरौँ ।

अरुका लागि गर्दा समाजका लागि हुन्छ त्यो। समाजका लागि गर्दा सल्यानका लागि हुन्छ त्यो। अनि सल्यानका लागि गर्दा देशका लागि हुन्छ त्यो । देशबाट लिने मात्रै हैन देशलाई थोरै केहीदिने पनि गरौँ । सबै मिलेर खुला हृदयले बिजयलाई सहयोग गरौँ ।

मुठ्ठी खोलेर बाँच्न सिकौँ भन्दै सबै महानुभावहरु त्था विद्यालयहरुलाई यसरी नै जोडिनहुन अनुरोध गर्दछु ।

-लेखक जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट-५ रिम, सल्यानका सहायक प्रधानाध्यापक हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस