
दाङ, २२ असार । दाङमा बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् । राप्ती नदीमा आएको बाढीमा परी लमही नगरपालिका वडा नं. २ का १८ वर्षीय राजकुमार यादव बेपत्ता हुनुभएको हो ।
लमही-७ हस्नापुरमा राजपुर गाउँपालिका-२ का किसानहरु बाढीमा फसेका थिए । लमहीबाट फर्किने क्रममा बाढीले बगाएका राजपुर गाउँपालिका वडा नं २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार तीन जना सँगै रहेपनि एकजनालाई बाढीले बगाएको हो भने दुईजना सिमलको रुखमा चढेका थिए ।
नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुईजनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिनुभयो ।
लगातारको वर्षाले देउखुरी जलमग्न भएको छ । दाङको राप्ती नदी र बबई नदीसहित अन्य खोलाहरुमा पानीको बहाब उच्च भएको छ । देउखुरीस्थित राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानीलगायत गाउँमा बाढी पस्न थालेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
वर्षाले इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ । कार्यालयको सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ । नियमित बर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ ।