
दाङ, १६ बैशाख । गर्मीयामसंगै आगलागीको प्रकोप बढ्दै गएको छ । आगलागीका घट्ना दैनिकजसो हुने गरेका छन् । आइतबार आजमात्रै दाङको राजपुर गाउँपालिका–७, हाडबास गाउँमा आगलागी हुँदा २३ घर जलेर नष्ट भएका छन् ।
गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । आगो अहिले नियन्त्रणमा आइसकेको छ ।
गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न सकेन । आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरू परिचालन भएपनि प्रयाप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाईका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाई भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति भएको प्रवक्ता मल्लले जानकारी दिनुभयो । स्थानीय सामुदायिक बनबाट फैलिएको आगो वस्तीमा पस्दा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट ४० वर्षिय इन्द्र बहादुर वलीको घर र गोठ जल्दा ५ लाख, ३५ वर्षिय शालिकराम वलीको घर जल्दा २ लाख, ३८ वर्षिय कमल केसीको घर जल्दा एक लाख ५० हजारको क्षति भएको छ ।
यस्तै ३४ वर्षिय चन्द्र बहादुर कुमालको घर जल्दा १ लाख, ५० वर्षिय यमबहादुर कुमालको घर जल्दा २ लाख, ४५ वर्षको लोकबहादुर भण्डारीको घर र गोठ जल्दा ४ लाखको क्षति भएको छ । यस्तै ४१ वर्षका दामोदर भण्डारीको ४ वटा बाख्रासहित घर र गोठ जल्दा ६ लाख, ३४ वर्षका भागीरथ कुँवरको घर जल्दा १ लाख ५० हजार, ५८ वर्षका खेमलाल खत्रीको घर जल्दा २ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै सोहि ठाउँकै ४५ वर्षिय खेमराज डाँगीको घर र गोठ जल्दा ६ लाख, ३१ वर्षिय रुपनाथ योगीको घर र गोठ जल्दा ४ लाख, ४२ वर्षिय टेकबहादुर डाँगीको घर र गोठ जल्दा ९ लाख, ३० वर्षिय शालिकराम डाँगीको घर र किराना पसल जल्दा ३ लाखको क्षति भएको छ ।
यस्तै ३५ वर्षका धर्मराज डाँगीको घर र गोठ जल्दा ७ लाख, ३८ वर्षको अर्जुन योगीको घर जल्दा ३५ हजार, ३८ वर्षका नरबहादुर थापाको घर र गोठ जल्दा ७ लाख, ३२ वर्षको विशाल बुढाको घर र गोठ जल्दा ४ लाख, ४० वर्षिय काली यरीको घर र गोठ जल्दा २ लाख, ४५ वर्षको सीता भण्डारीको घर र गोठ जल्दा १ लाख २० हजारको क्षति भएको छ ।
यस्तै ३५ वर्षका भेषबहादुर केसीको घर र गोठ जल्दा ५ लाख, ५९ वर्षका मनिनाथ कुवँरको घर र गोठ जल्दा ५ लाख, ३२ वर्षको लालबहादुर केसीको घर जल्दा ५ लाखको क्षति भएको छ । पिडितलाई राहतस्वरुप खाद्यान्नसहित चाउचाउ र बिस्कुट वितरण भएको देउखुरीबाट पत्रकार महेश रिजालले जानकारी दिनुभयो ।