इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै स्थानमा ०७९ को निर्वाचन भन्दा कम मत खसेको छ ।
इलाममा गत ०७९ को निर्वाचनमा ५९.७८ प्रतिशत मतदान भएको थियो । यो पटक जम्माजम्मी ५८ प्रतिशत मत खसेको हो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।
आज मतदान भएको बझाङको प्रदेश सभा क्षेत्र नं. १ पनि अघिल्लो निर्वाचनमा भन्दा कम मत खसेको छ । ०७९ मा भएको निर्वाचनमा ५२.९८ प्रतिशत मत खसेको थियो । यो पटक ५ बजेसम्म ५० प्रतिशत मतदाताले मतदान गरे । अघिल्लो चुनावमा भन्दा यो पटक सो निर्वाचन क्षेत्रमा झण्डै तीन प्रतिशत कम मतदान भएको हो ।
जिल्ला निर्वाचन कार्यलय बझाङका सूचना अधिकारी गोरख केसीले भने, ‘५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार यहाँ करिब ५० प्रतिशत मत खसेको थाहा भएको छ । केही स्थानमा भएको मतदान तथ्यांक आउन बाँकी छ ।’
बझाङ प्रदेशसभा १ मा कूल ६१ हजार ७८४ मतदाता थिए । ३१ हजार ५४९ पुरुष र ३१ हजार १९९ महिला मतदाता रहेको सो क्षेत्रमा ०७९ को निर्वाचनभन्दा कम मत खसेको हो ।
इलाम
इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ मा शनिबार भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धा गरेका छन् ।
जिल्ला निर्वाचन अधिकृत देवीचरण फुँयालका अनुसार इलाम-२ का ६ वटा पालिकाका ४२ वडास्थित १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम सुरु भएको छ ।
फुँयालका अनुसार इलाम-२ को मतपेटिका इलाम नगरपालिका-७ स्थित रहेको गौतमबुद्ध सभा हलमा गणना हुनेछ ।
उनले खबरहबलाई भने, ‘निर्वाचन आयोगबाट पनि खबर आएको छ । आजबाट सहमतिको प्रयास मिल्यो भने १२ बजेबाट गणना हुन्छ । चुलाचुली गाउँपालिकाको मत दमक हुँदै बिर्तामोडबाट गाडीमा ल्याउनुपर्ने भएकाले केही असहज हुन सक्ला कि भन्ने छ ।’
उनका अनुसार चुलाचुली र माङसेबुङ गाउँपालिका टाढा रहेको तथा भौगोलिक विकटताका कारण मतपेटिका समयमै ल्याएर मतगणना तत्काल थाल्न सक्ने अवस्था छैन ।
इलामबाट ०७९ मा निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको ०७९ भदै २६ गते हृदयघातबाट निधन भएको थियो । उनको निधन भएपछि रिक्त क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि आज मतदान भएको हो ।
बझाङ
बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इलाममा भन्दा बझाङमा प्रतिशतको हिसाबले कम मत खसेको छ । भौगोलिक कारण यहाँ कम मत खसेको हुन सक्ने निर्वाचन आयोगको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार भौगोलिक विकटताका कारण आज नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएको हो ।
बझाङको साइपाल गाउँपालिकामा रहेको ५ वटा मतदान केन्द्र मध्ये तीन वटा मतदान केन्द्रको मत हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने कारण शनिबार नै मप पेटिका सदरमुकाम आइपुग्न नसकेको लामिछानेको भनाइ छ । -खबरहबबाट