२०८१ जेष्ठ ९ गते बुधवार

अनमोल र जसिता स्टारर ‘फर्की फर्की’को ट्रेलर रिलिज

काठमाडौं । युवा स्टार अनमोल केसी र जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अनमोल केसीलाई केन्द्रमा राखिएको छ । टाइम ट्राभलको कथालाई मुख्य विषय बनाइएको ट्रेलरले फिल्मप्रतिको दर्शक कौतुहलता थप बढाउने देखिन्छ ।

सुयोग गुरुङ निर्देशित फिल्मको ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक गुरुङले सन् २०१९ देखि फिल्मको तयारी गरेको स्मरण गर्दै नेपाली फिल्ममा पहिलोपटक ट्राभल जर्नीमा फिल्म बनाएको दाबी गरे । ‘खास गरी यो जनराको फिल्मका दर्शक र फ्यानहरु ओटीटी प्लेटफर्ममा बढी छन्’, उनले भने, ‘ड्रामा, कमेडी र प्रमुख पात्रको जर्नीलाई फिल्ममा देखाइएकोले नेपाली दर्शकका लागि फिल्म फरक स्वादको अवश्य हुनेछ ।’

फिल्मका नायक अनमोल केसीले आफूलाई चार वर्षअघि निर्देशक सुयोगले फिल्मको कन्सेप्ट सुनाउँदा नै फिल्मप्रति आफ्नो चासो बढेको खुलाए । ‘यो चरित्र मेरा लागि चुनौतीपूर्ण नै थियो । तीन वर्षको मेहनतमा त्यो चुनौतीलाई तोड्न सफल भएँ जस्तो लागेको छ’, उनले भने ।

रोहित अधिकारीले निर्माण गरेको फिल्म ‘फर्की फर्की’बाट
रवि काफ्ले र समृद्धि रिजालले रजतपटमा ‘डेब्यू’ गर्दैछन् । ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्म जेठ १० गतेबाट रिलिज हुँदैछ ।

ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्मातामा छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र थापाको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । बक्स अफिसमा आगामी जेठ १० गते ‘फर्की फर्की’, ‘पूजार सार्की’ र ‘दान्भी’बीच भिडन्त हुँदैछ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस