तुलसीपुर, ३ बैशाख । तुलसीपुर व्यवसाय प्रवद्र्धन केन्द्रको उद्घाटन तथा व्यवसायमा नविनतम चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम गरिएको छ । सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सीप र आवश्यकताको पहिचान गरेर व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले समुदायमा आवश्यकता र मागको पहिचान गरेर व्यवसाय संचालन गरेमा फस्टाउन सकिने बताएका हुन् । व्यवसाय र सीपको पहिचान नगरेर व्यवसाय संचालन गर्दा पेशाबाट पलायन हुने तथा व्यवसाय नै छोड्ने अवस्था रहेको उनिहरुको जोड छ ।
कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव बिनिल केसी, मेट्रो कलेज तुलसीपुरका प्रमुख बसन्त आचार्य, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती, तयार नेपालका श्रमलाल चौधरी व्यवसायमा हुने अवसर र चुनौतिका बारेमा चर्चा गर्नुभएको हो ।
बिआईसी संयोजक तथा तुलसीपुर उपमहानरपालिकाका आर्थिक विकास समितिका संयोजक माधव वलीको अध्यक्षता तथा बिआइसीका संरक्षक एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले बिआइसीलाई पूणर्रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख खड्काले आर्थिक समृद्धिको आधार नै व्यवसाय रहेको भन्दै व्यावसायिक योजना लिएर आउनेलाई आवश्यक सहयोग गर्न सकिने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले गर्नुभएको हो ।