
दाङ, २५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथ ग्रहण आज हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बताउनुभयो । पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा लिखित सहमति भएको खुलेको छ ।
जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको छ । यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ ।
लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दशवटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२ सम्म र्पुयाउने र बाँकी रहेका दलहरुलाई पनि सरकारमा सहभागी गराउने जोड देखिएको छ । एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिनेगरी तयारी गरिएको स्रोतले जनाएको छ ।