२०८१ मङ्सिर २२ गते शनिवार

बजेट अभावले दाङमा एक सय बढी खानेपानी आयोजना अलपत्र


दाङ, २३ चैत । बजेट अभावले दाङमा एक सय बढी खानेपानी आयोजना अलपत्र रहेका छन् । बहुवर्षे योजनाको रुपमा रहेका योजनामा कम बजेटका कारण यो वर्ष नयाँ काम गर्न नसकिएको खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ ।

वर्षेनि बजेट विनियोजन हुने गरेका क्रमागत योजनामा नाम मात्रको बजेट छुट्याईदा आयोजनाको काम शुरु नै भएको छैन । एक करोडदेखि पाँच करोडसम्मका आयोजनामा पाँच हजारसम्म बजेट छुट्याइँदा काम नै शुरु गर्न नसकिएको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले योजना निरन्तरताका लागि बजेट छुट्याइएको बताउनुभयो । उहाँले क्रमागत आयोजनामा वर्षेनि कम बजेट विनियोजन हुँदै गएमा आयोजना नै नबन्ने अवस्था आउन सक्ने बताउनुभयो । कार्यालयमा आयोजना धेरै हुनु र बजेट कम हुनुले समयमै आयोजना सम्पन्न गर्न पनि नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।

खानेपानी डिभिजन कार्यालय दाङका आधाजसो आयोजनामा बजेट अभाव देखिएको कार्यालयले जनाएको छ । ओभरहेड टंकीदेखि पाइपलाइन, बोरिङसम्मका योजना बजेट अभावले नै अलपत्र परेका हुन् ।

सरकारले आयोजना बढाउँदा र अति न्यून बजेट छुट्याउँदा क्रमागत योजनासमेत थला परेका छन् । गत वर्ष जिल्लामा दुई सय ८६ खानेपानीका ठूला साना योजना थिए । यस वर्ष आयोजना बढेर तीन सय ४३ पुगे तर बजेट गत वर्षकै हाराहारीमा विनियोजन भएको छ । यस वर्ष ३८ करोड ८५ लाख ५४ हजार बजेट विनियोजन भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका सूचना अधिकारी ई. बसन्तकुमार दुलालका अनुसार गत वर्ष ३८ करोड हाराहारीमा बजेट विनियोजन भएको थियो । ई. दुलालले ओभरहेड टंकीदेखि पाइपलाइन, बोरिङसम्मका योजना बजेट अभावमा अलपत्र परेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस