दाङ, १६ चैत । दाङसहित देशभरको मौसम आइतबारदेखि सुधार आउने भएको छ । केही दिनयता भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने भएको हो ।
न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय भएको बताउनुभयो ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।