२०८१ माघ ९ गते बुधवार

दाङका पानी उद्योग मापदण्डविपरित संचालनमा


दाङ, १४ चैत । दाङका पानी उद्योग मापदण्डबाहिर संचालनमा छन् । प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड लागु गरे पनि दाङमा त्यसको पालना भएको छैन् ।

मापदण्ड अनुसार पानी उद्योगले प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ सामग्रीको भण्डारण, पूर्वप्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार तथा बोट्तल सफा गर्ने कक्ष, पुनः प्रयोग गर्ने बोतलहरूको भण्डारणको लागि पर्याप्त ठाउँसहितको उद्योग व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

तर दाङमा रहेका अधिकांश पानी उद्योगले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ को पालना नगरेको पाइएको हो । जिल्लामा प्रशोधित पिउने पानी उत्पादन गर्ने १२ उद्योग छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले १० वटा उद्योगमा सबै मापदण्ड पालना नभएको जनाएको छ

खाद्य निरीक्षक राजेश चौधरीले निर्देशिकाले तोकेको अभिलेख व्यवस्थापन व्यवस्थितरुपमा सबैमा नभएको कामदारको स्वास्थ्य परीक्षण, कामदारलाई तालिम, महिना महिनाको ल्याव एनालाइसिस रिपोर्ट, चार/चार महिनामा ल्याव परीक्षण गर्नुपर्ने व्यवस्थालगायतका विषयमा मापदण्ड पालना नभएको बताउनुभयो । उहाँले मास्क, हेडक्याप, एप्रोन जस्ता विषयमा पनि व्यवस्थित तरिका ले प्रयोग गरेको नदेखिएको बताउनुभयो ।

जिल्लामा रहेका रारा, स्वर्गद्वारी, गोरक्ष, राप्ती, ओम, डाइनामिक, आरोग्य, एनएम, एसएमवी, माउण्टेन, श्री साइराम र भद्रकाली पानी प्रशोधन उद्योग सञ्चालनमा छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले निर्देशिकामा भए बमोजिमको पानीको स्रोतको स्वच्छता, कामदार र काम गर्दा लगाइने लुगा छुट्टै हुनुपर्ने, उद्योगबाट आउने फोहोर पानीको राम्रोसँग व्यवस्थापन हुनुपर्ने, कामदारलाई अनिवार्यरूपमा छ ।

महिनामा एक पटक तालिमको व्यवस्था गर्नुपर्ने, महिनामा कम्तिमा एकपटक उद्योगको मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने, हरेक चार महिनामा विभागको प्रयोगशाला वा विभाग मातहतका प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने, प्रशोधित पानीको प्रत्येक ब्याचको पीटीडीएस, कडापन, फ्री क्लोरिन, आइरन, एमोनिया तथा कोलिफर्म जस्ता आधारभूत प्यारामिटर कम्तिमा टेस्टकिट माध्यमबाट विश्लेषण गरी प्रत्येक महिना अभिलेख अद्यावधिक गर्नुपर्ने जस्ता मापदण्ड जिल्लामा पालना नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार प्रशोधित पिउने पानीका उद्योगमा अनुगमन गरेको हो । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस