२०८१ बैशाख ११ गते मङ्गलवार

सुकौरामा २ करोड ५० लाखमा पर्यटकीय भवन निर्माण हुने


दाङ,२५ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको दंगिशरण थारु राजाकोट सुकौरामा पर्यटकीय भवन निर्माण हुने भएको छ ।

थारू राजाले राज्य संचालन गरेको सुकौराकोटको विकास र विस्तार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत चालू वर्षमा पर्यटकीय भवन निर्माणका लागि २ करोड ५० लाखको बहुवर्षिय टेन्डर आव्हान भएको तुलसीपुर -११ का अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो ।

हेर्न जाँउ सुकौरा, घुम्न जाऔ सुकौरा भन्ने उद्देश्यले पर्यटन क्षेत्रको रूपमा स्थापित गर्न पर्यटकीय भवन निर्माण हुने भएपछि स्थानीय खुशी भएका छन् ।

वडा अध्यक्षमा निर्वाचित भए लगत्तै वडाअध्यक्ष रावतले सुकौराकोटको समग्र रूपमा विकास नभए दाङ नै पछाडी पर्ने धारणा राख्नुभएको थियो ।

त्यस क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल,संविधानसभा सदस्य बुद्धिराम भण्डारी,लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी,तत्कालीन अर्थमन्त्री धन बहादुर मास्की,प्रतिनिधिसभा सदस्य दिपक गिरी सहितका नेतालाई आमन्त्रण गरेर सुकौराकोटको समग्र विकासमा सहयोगका लागि आग्रह गरिएको थियो ।

सबै तह र क्षेत्रको सहयोगबाट सुकौराकोटको स्तरोन्नती तथा इतिहासको जगेर्ना गर्न सफल भएको अध्यक्ष रावतले बताउनुभयो ।

थारू राजाले राज्य सञ्चालन गरेर पनि थारू बाहुल्य क्षेत्र दाङमा ओझेलमा परेको थारु राजाको सुकौराकोट दरबारको पुनःनिर्माणलाई समग्र थारु समुदाय र दाङ बासिको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा लिईएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस