रुकुमपश्चिम, १६ फागुन ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ३ ले विवाहमा दिइने निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य रुपमा लेख्नुपर्ने नियम बनाएको छ । वडा कार्यालयले बाल विवाहविरुद्धको कानुन कार्यान्वयनको क्रममा यस्तो कार्य गर्न थालेको सूचनामार्फत जानकारी गराएको हो ।
वडाध्यक्ष केशरमान विकले वडा क्षेत्रमा हुने विवाहको निमन्त्रणा पत्रलाई बाल विवाह, मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि प्रयोग गर्न थालिएको जानकारी दिनुभयो । उहाँले विवाहमा निमन्त्रणा गरिने कार्डमा अनिवार्य रूपमा बेहुला बेहुलीको जन्मदर्ता उल्लेख गरिनुपर्ने बताउनुभयो । यसका साथै निमन्त्रणा कार्डमा नै विवाह गर्ने घरमा मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने, नगराउने प्रतिबद्धतासमेत उल्लेख हुनुपर्ने वडाध्यक्ष विकले बताउनुभयो ।
वडामा मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरिएको छ । वडा अध्यक्ष विकले २०७५ मङ्सिर २५ गतेदेखि वडामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको र २०७९ मङ्सिर ५ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाइएको जानकारी दिनुभयो ।
वडा सरकार बाल विवाहविरुद्धको कानुनी व्यवस्था कार्यान्वयनतर्फ कडाइका साथ लागेको र यसका लागि विवाहको निमन्त्रणा कार्डलाई पनि उपयोग गर्न खोजिएको वडाध्यक्ष विकको भनाइ छ । विवाहको कार्डमा नै यस्तो खबर पठाइएमा बाल विवाह नियन्त्रण हुने र सार्वजनिक स्थान तथा समारोहमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग बन्द हुने वडा कार्यालयको विश्वास छ । यसअघि वडाले बाल विवाहविरुद्ध अन्तरक्रिया, सचेतना र गाउँमा हुने केही बाल विवाहलाई रोक्ने काम गरेको छ ॥