२०८१ बैशाख ११ गते मङ्गलवार

रोल्पाको घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु


रोल्पा, १६ फागुन । रोल्पामा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका-५ भावाङमा एक घरमा आगलागी हुँदा ७५ वर्षीया हरिकला घर्तीको आगलागीबाट मृत्यु भएको हो ।

मंगलबार बेलुकी पौने पाँच बजेतिर अचानक भावाङको कचरिकोटस्थित वृद्धाको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । माटो, ढुंगा र टिनले बनाइएको २ तलाको घरमा आगलागी हुँदा घरमा एक्लै रहेकी वृद्धा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा माइलो छोरासँग बस्दै आएको तर त्यसबेला माइलो छोरा काम गर्न बाहिर निस्केको प्रहरी अनुसन्धानबाट खुलेको छ । उहाँका अन्य तीन छोरा भने अन्यत्र बस्ने गरेका छन् । घरको तल्लो तलाबाट सल्केको आगोबाट जलेर माथिल्लो तलामा रहेकी वृद्धाको मृत्यु भएको हो ।

घरमा पशु चौपाया न भएको र आगलागी तत्काल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनाको बारेमा जानकारी पाएपछि माडी गाउँपालिकाको इलाका प्रहरी कार्यालय घर्तीगाउँस्थित चौकीबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा प्रहरी अनुसन्धानका लागि खटिएको थियो ।

टोलीले विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम नारायण गुप्ताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस