२०८१ फाल्गुन ३ गते शनिवार

दाङमा चालुवर्षको सात महिनामा गतवर्षभन्दा कम राजश्व संकलन

दाङ । दाङमा चालु आर्थिक वर्षमा राजश्व संकलन गत वर्ष भन्दा घटेको छ । चालु आर्थिक वर्षको फागुन ६ गतेसम्म दुई अर्ब पाँच करोड ४४ लाख ९८ हजार ९८ रुपैयाँ ६५ पैसा राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को यही अवधिसम्म जिल्लामा दुई खर्व १४ करोड ६४ लाख ६१ हजार चार रुपैयाँ एक पैसा राजश्व संकलन भएको थियो । गत वर्षको यही अवधिमा संकलन भएको राजश्व भन्दा यसवर्ष नौ करोड १९ लाख ६२ हजार नौ सय पाँच रुपैयाँ ४४ पैसा कम उठेको छ ।

चालु आर्थिक वर्षको फागुन ६ गतेसम्मको रेकर्ड अनुसार दाङमा संघीय कार्यालयले गत वर्षको यही अवधिको तुलनामा छ करोड १३ लाख ८५ हजार नौ सय ९६ रुपैयाँ कम राजश्व संकलन गरेका छन् । गत वर्ष एक अर्ब ५९ करोड ४९ लाख ९३ हजार छ सय ५६ रुपैयाँ ७१ पैसा उठाएको संघतर्फका कार्यालयले सोही अवधिमा यस वर्ष भने एक अर्ब ५३ करोड ३६ लाख सात हजार छ सय ६० रुपैयाँ ६७ पैसा मात्रै राजश्व उठाएका छन् ।

प्रदेशतर्फका कार्यालयले पनि यस वर्ष गत वर्षको जति राजश्व संकलन गर्न सकेका छैनन् । राजश्व संकलन गर्ने प्रदेशका कार्यालयहरुले यस वर्षको फागुन ६ गते सोमबारसम्म ५२ करोड आठ लाख ९० हजार चार सय ३७ रुपैयाँ ९८ पैसा संकलन गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा प्रदेशअन्तर्गतका कार्यालयले ५५ करोड १४ लाख ६७ हजार तीन सय ४७ रुपैयाँ ३७ पैसा संकलन गरेका थिए ।

गत कार्तिक १३ गते सोमबारसम्मको रेकर्डमा गत वर्षको सोही अवधिसम्म संघतर्फ १४ करोड छ लाख दुई हजार पाँच सय ८९ रुपैयाँ २२ पैसा र चालु आवको साढे तीन महिनाको अवधिमा गत वर्षको सोही अवधिभन्दा प्रदेश अन्तर्गतका कार्यालयबाट २३ लाख ८७ हजार छ सय ४१ रुपैयाँ ५५ पैसा राजश्व बढी उठेको थियो । तर आर्थिक वर्षको सात महिना भन्दा बढी समय फागुन ६ गतेसम्मको रेकर्ड अनुसार संघ र प्रदेश दुबैतर्फ राजश्व घटेको देखिएको छ । नयाँ युगबोध दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस