२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुर महोत्सव : गुडियादेखि सिस्नोको पुडियासम्मको व्यापार

दाङ, २ फागुन ।
स्टल नम्बर १४६ । महिला उद्यमी रेनु श्रेष्ठ जिएम विभिन्न प्रकारका गुडिया बिक्रि गर्न व्यस्त छिन् । उनको स्टलमा १ सयदेखि ४ हजार ५ सय सम्मका खेलौना छन् । तुलसीपुर-९ बेलुवा निवासी जिएमले व्यवसाय गरेको करिब ७ वर्ष भयो ।

उनले घरमै व्यापार गर्ने गरेकी छन् । अहिले तुलसीपुरमा जारी महोत्सवमा उनले बनाएका विभिन्न प्रकारका खेलौना निकै माग हुने गरेको छ । ‘बच्चादेखि वृद्धासम्मलाई मन गुडिया मन पर्ने गरेको छ ।’ उनले भनिन्-‘मेलामा व्यापार राम्रै भएको छ । स्थानीयस्तरमा उत्पादित सामान भएकाले उनले स्टलमा छुट पाएकी छन् ।

‘स्थानीयस्तरमै पाउने सामग्रिको बिक्रि वितरण भएकोले स्टलको भाडामा छुट पाएको छु ।’ उनले भनिन्-‘बेला बेलामा संचालन हुने मेला महोत्सवले स्थानीय वस्तुको प्रवद्र्धन गरेको छ ।’ उनको घरमा पनि व्यापार राम्रै हुने गरेको छ ।

विस्तारै प्रचार प्रसार हुन थालेकाले गुडियाको माग बढ्न थालेको उनले बताईन् ।‘सबैले विस्तारै थाहा पाउन थालेका छन् ।’ उनले भनिन्-‘पहिले खाली समयको सदुपयोग गर्न सिप सिकेको थिएँ,अहिले पेशा नै यहि भएको छ ।’

हातमा सिप भएकाले पनि धेरैले हौसला दिने गरेको उनले बताईन् ।‘सबैबाट राम्रो हौसला मिलेको छ ।’ उनले भनिन्-‘अहिले सिकेको सिप अरुलाई पनि सिकाउने गरेको छु ।’

महोत्सवस्थलमा सिस्नोको पुडियादेखि जौँ को सातु समेत पाउने गरेको छ । ग्रिन फाउण्डेसन नेपालले महोत्सवस्थलमा बन र कृषिसंग सम्बन्धित सामग्रि राखेको छ ।

स्थानीयस्तरमा पाउने सामग्रिको प्रवद्र्धनका लागि स्टल राखिएको ग्रिन फाउण्डेसन नेपालका कोषाध्यक्ष केपी भण्डारीले बताए । ‘सिस्नो पाउडर, टिमुर, टिमुरबाट बनेका मसलाहरु, जौको सातु, सिन्की , मस्यौरा लगायतका सामग्रि बिक्रि वितरण गरिरहेका छौँ ।’ उनले भने-‘स्थानीय कृषिजन्य सामग्रिको बिक्रि वितरण राम्रै भइरहेको छ ।’

स्टलमा काँस तथा पोन्जबाट बनेका सामग्रिको पनि निकै माग हुने गरेको उनले बताए । ‘स्थानीयस्तरमा बनेका सामग्रिको माग बढीरहेको छ ।’ उनले भने-‘अलि महंगो भयो भन्नुहुन्छ, तर सबै बुझेपछि बिक्रि हुने गरेको छ ।’

स्थानीय सामग्रिको बजार विस्तारमा महोत्सवले महत्वपूणर् भूमिका खेलेको उनले बताए । ‘अहिले व्यापारसंगै प्रचारप्रसार पनि भइरहेको छ ।’ उनले भने-‘आगामी दिनमा व्यापार प्रवद्र्धनम थप टेवा पुग्नेछ ।’

हातले बुनेका डाली, ढकिया, कलमदानी लगायतका सामग्रिहरु बिक्रि भइरहेको छ । तुलसीपुर बन उद्यम सहकारी संस्थाका सचिव गणेश भण्डारीले बिक्रि वितरणसंगै फोटो खिच्नेको भिडभाड हुने गरेको बताए । ‘

हस्तकलाका सामग्रिको फोटो खिचेर सामाजिक संजालमा राख्ने ग्राहक पनि आउने गर्नुभएको छ ।’ उनले भने-‘यसले पनि स्थानीय उतपादनको प्रवद्र्धन भइरहेको छ ।’

महोत्सवमा दंगिशरण गाउँपालिका वडा नम्बर ५ बालापुरका सुमित्रा बिकले खुकुरीदेखि हँसिया, खुँडा लगायतका सामग्रि बिक्रिका लागि राखेकी छन् । टलक्क टल्कने एउटै खुकुरीको मूल्य सात हजारसम्म छ ।

खुकुरीको माग बढीरहेको उनले बताईन् । ‘टाढाबाट आउनेहरुले खुकुरी किनेर लैजाने गर्नुभएको छ ।’ उनले भनिन्-‘अरु सामाग्रिको तुलनामा खुकुरी बढी बिक्रि हुने गरेको छ ।’

स्थानीय सामग्रिको प्रवद्र्धन गर्न महोत्सवले भूमिका खेलेपनि स्टलमा छुट पाउन नसकेको उनको गुनासो छ । ‘स्टलको २६ हजार भन्नुभएको छ ।’ उनले भनिन्-‘अरु व्यापारजस्तो छैन्, तर स्थानीय सामग्रि भएकोले स्टल राखेका हौँ, हामीलाई पुरै २६ हजार भाडा दिनुपर्छ भनेर भन्नुभएको छ ।’

घरमा बुवाले बनाएका सामानको प्रवद्र्धनका लागि मेलामा आएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस