तुलसीपुर, २७ माघ । नेपाली नागरिकले चाहेको समाजवाद आउन नसकेको तुलसीपुरमा आयोजित सहभागीहरुले बताएका छन् । वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रियामा सहभागी नेताहरुले समाजवादको उद्देश्य भन्दा बाहिर नेतृत्व जाँदा आम नागरिकमा निराशा पैदा भएको निष्र्कष निकालेका छन् ।
नेकपाले सार्वजनिक गरेको सात बुँदे अवधारणापत्रको समिक्षा गर्दै विभिन्न दलका नेताहरुले समाजवाद उन्मुख संविधान भएपनि देश र जनताको अवस्था सुधार हुन नसकेको बताएका छन् ।
कार्यक्रममा नेकपा मशालका जिल्ला कमिटी सदस्य शसिराम बुढाथोकीले राजनीति दलहरूले भ्रम पैदा गर्दा नागरिकमा निराशा सिर्जना भएको बताउनुभयो । उहाँले श्रमको सम्मान हुन नसक्नु नै समस्या रहेको रहेको बताउनुभयो । नेपाल कम्युनिस्ट पाटी तुलसीपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य ईश्वरीप्रसाद गैरैले एमसीसीका नामबाट लिएको विदेशी सहयोग नै राष्ट्रका लागि घातक भएको बताउनुभयो ।
कार्यक्रममा जनता समाजवादी पाटीका जिल्ला उपाध्यक्ष मोहन वलीले जनताको आकांक्षालाई प्राथमिकता राख्न नसक्दा नेतृत्वप्रति आलोचना बढ्न थालेको बताउनुभयो ।
मानवअधिकारकर्मी प्रमोद न्यौपाने, दलित अधिकारकर्मी निर्मल नेपाली, नेपाल प्राध्यापक संगठनका केन्द्रीय सदस्य वंशीधर आचार्य, राप्ती बबई क्याम्पस संचालक समिति सदस्य निर्मल आचार्य, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव निर्मला डिसी, वैकल्पिक राजनीतिक अभियान्ता जीवन भण्डारी लगायतले समाजवादलाई सफल बनाउन नेतृत्व तह जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन् ।