दाङ, २६ माघ । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक रामजी खाँडले लोक संस्कृतिभित्र अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताउनुभएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा बिहिबार भएको कार्यक्रममा बोल्दै गायक खाँडले समाजमा भएको विकृति विसंगति रोक्न सञ्चार माध्यमको भूमिका प्रमुख हुने बताउनुभयो ।
‘पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले लोक संस्कृति भित्र मौलिकपना हराउँदै गएको छ ।’ साक्षात्कार कार्यक्रममा बोल्दै खाँडले भन्नुभयो-‘नेपाली कला संगीत भित्र अराजकता भित्र्याउने हरुलाई सञ्चार माध्यमले महत्व दिएन भने आफै विलीन हुँदै जानेछ ।’
विगत र वर्तमानको कला संस्कृतिमा धेरै अन्तर हुँदै आएको छ । एक दशक अघिको लोक संस्कृति र अहिले वर्तमान अवस्थाको लोक संस्कृति पृथक हुँदै गएको छ । पहिला हामीले कति दुःख गर्थ्यो तर अहिले हेर्नुहोस सामाजिक सञ्जाल हेरे पुग्छ ।’ उहाँले भन्नुभयो । नेपाली कला संस्कृति मौलिकपन र लोक संस्कृतिलाई बचाउन चलचित्र पत्रकार संघले गरेको कामप्रति खुसी ब्यक्त गर्दै पहिलो पटक यसरी लोक सगित र कलाकारिताको विषयमा पत्रकार संग छलफल गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सघका सल्लाहकार शरद रेग्मी गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिव निरला अर्यालले गर्नुभएको हो ।