दाङ, ११ माघ । राष्ट्रियसभा सदस्यको लागि आज निर्वाचन हुन लागेको छ । आगामी फागुन २० गते रिक्त हुने २० मध्ये १९ पदका लागि आज निर्वाचन हुन लागेको हो ।
लुम्बिनी प्रदेशबाट रिक्त हुन लागेको दुई सिटका लागि निर्वाचन हुन लागेको छ ।
निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर दुई सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
मतदान स्थलको अनुगमन गरी पूर्वाधार निर्माण तथा व्यवस्थापकीय कार्यका लागि आवश्यक तयारी भइसकेको उहाँले बताउनुभयो । निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी तोक्ने काम, सुरक्षा व्यवस्थापनको काम सकिएको सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो ।
दुई वटा मतदान केन्द्रमा दश/दश जना गरी २० जना कर्मचारी खटिनेछन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कर्मचारी सहयोगी गरी दश जना हुने कुँवरको भनाइ छ । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले सुरक्षाकर्मी परिचालन गर्ने गरी व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
असक्त र अपाङ्गता भएका मतदाताको हकमा लाइन बस्न नपर्ने गरी मतदानको व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशमा अन्य र महिला क्लस्टरका दुई सिटका लागि ६ जना उम्मेदवार छन् ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला क्लस्टरमा गुल्मीका विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङका तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ ।
राप्रपाले महिला क्लस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता छन् ।
प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।