२०८१ माघ १ गते मङ्गलवार

विद्यार्थीले ढिग्री बनाउन थालेपछि…

तुलसीपुर, ५ माघ । ज्ञान बहादुर वली गोर्खा मावि कक्षा १२ मा पढ्छन् । उनले थारु समुदायमा प्रख्यात रहेको ढिग्री आफुले पनि खाएका थिए । तर बनाउन जानेका थिएनन् ।

शुक्रबार उनले ढिग्री बनाउन सिके । तुलसीपुर-१० पड्ढाको सानो गाउँ पुगेका वलीले साथीभाई संगै मिलेर ढिग्री बनाए ।

‘हामी थारु समुदाय भएको गाउँमा आएर ढिग्रीमात्रै होइन्, थारु समुदायको कलासंस्कृती पढ्न पाएका छौँ ।’ उनले भने-‘सुनेको भन्दा वास्तविकरुपमा पाउँदा धेरै बुझ्न सजिलो हुने रहेछ ।’

कृतिका भण्डारीले थारु समुदायमा खाने ढिग्री खाएकी थिईन् । तर उनलाई बनाउने तरिकाबारे थाहा थिएन । गोर्खा मावि तुलसीपुरमा कक्षा १२ मा अध्ययनरत उनले शुक्रबार ढिग्री बनाउने उपायबारे सिकिन् ।

थारु समुदायमै पुगेर ढिग्री बनाउनेबारे सिक्न पाउँदा खुशी लागेको बताईन् । ‘ढिग्रीमात्रै होइन्, दुना टपरी बनाउन पनि सिक्ने अवसर प्राप्त गरेकी छु ।’ उनले भनिन्-‘अब घरमा गएर पनि दुना टपरी लगाउनेमात्रै होईन ढिग्री पनि बनाउँछु ।

तुलसीपुर-८ दुधेनाकी एलिना भण्डारी पनि कक्षा १२ मा गोर्खा मावि तुलसीपुरमै पढ्छिन् । उनले पनि शुक्रबार ढिग्री बनाउने देखि थारु समुदायको कला, संस्कृतिबारे जान्ने मौका पाइन् ।

तुलसीपुर-१० पडढा साथीसंगै पुगेकी उनले दुना टपरी लगाउने र ढिग्री बनाउने सिकेको बताईन् । ‘विद्यालयले गाउँमै ल्याएर पढाएको छ ।’ उनले भनिन्-‘कक्षा कोठामा सिकेको भन्दा सम्बन्धित ठाउँमा आएर पढ्दा धेरै कुरा सिक्ने मौका पाएँ ।’

विद्यार्थीलाई ढिग्री बनाउने सिकाउन सीता चौधरीले सिकाईन् । तुलसीपुर-१० पड्ढाकी सीताले विद्यार्थीलाई आफ्नो ज्ञान सिकाउन पाउँदा खुशी लागेको बताईन् । उनले विद्यार्थीलाई थारु कला, संस्कृतीबारे पनि सिकाउने मौका पाएको बताईन् ।

गोर्खा मावि तुलसीपुरका व्यवस्थापन संकायका संयोजक डम्बर डाँगीले विद्यार्थीलाई सामाजिक मूल्य मान्यता, धर्म , संस्कृतिको बारेमा जानकारी दिन गाउँमै पुग्ने गरेको बताए । ‘दुई वर्षसम्म धार्मिक महत्व बुझाउन विद्यार्थीलाई अवलोकन गराएका थियौँ ।’ उनले भने-‘एउटा वर्ष पाण्डबेश्वर मन्दीर धारापानी मन्दीर, अर्को वर्ष बाह्रकुने दह गएका थियौँ ।’ उनले यसपटक संस्कृती र परम्परा बुझाउन गाउँमा आइपुगेको बताए ।

विद्यालयका प्रधानाध्यापक बिजयमान जिएमले बालबालिकालाई व्यवहारिकरुपमै ज्ञान सिप दिनका लागि गाउँमा आइपुगेको र यसपटक थारु समुदायको संस्कृती र परम्पराबारे स्थानीय थारु अगुवाबाटै बुझाएको बताए । ‘सैद्धान्तिक कुराहरुले मात्रै भन्दा पनि व्यवहारिकरुपमा ज्ञान प्रदान गर्न विद्यार्थी गाउँमै आइपुगेका छन् ।’ उनले भने-‘आगामी दिनमा थप विषयमा अध्ययन अवलोकन गराउने छौँ ।’

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस