तुलसीपुर, ५ माघ । सुवास परियार मेट्रो कलेज तुलसीपुरमा अध्ययनरत छन् । उनले थ्री इनर्जी वाटर पम्प बनाएका छन् । उनले सुनाखरी सिकाई मेलामा आफुले गरेको काम देखाउने अवसर प्राप्त गरे ।
‘थ्री इनर्जी वाटर पम्पबाट साइकलजस्तै पैदल घुमाएर कल धाराबाट पानी तान्न सकिन्छ ।’ उनले भने-‘अहिले स्याम्पलिङ बनाएको छु, यसलाई ठुलो रुप दिन सकिन्छ । ’ बिशाल कुँवर पनि मेट्रो कलेजमै अध्ययनत छन् । उनले पानी ट्यांकीमा लगाउँदा बेहोर्नुपर्ने झन्जटको अन्त्य गर्नका लागि प्रविधि बनाए ।
उनले बनाएको प्रविधि पनि सुनाखरी मेलामा प्रदर्शनमा राखिएपछि धेरैले अवलोकन गरे । ‘पानी लगाएपछि कतिबेला ट्यांकी फूल हुन्छ भन्ने पत्तै हुँदैन्, त्यसकै झन्जट अन्त्य गर्नका लागि नयाँ प्रविधिको विकास गरिएको छ ।’ उनले भने-‘यो प्रविधि जडान गरेपछि पानी सकिने डर र भरिएपछि खेरा जाने डरको अन्त्य हुन्छ ।’
समिर पोखरेल हाम्रो पहुँच माविमा कक्षा ११ मा पढ्छन् । उनलाई नयाँ-नयाँ प्रविधिबारे जान्ने चाहना छ । उनले फुर्सद भयो कि कुनै न कुनै काम गरिहाल्छन् । उनले आफ्नो क्षमतालाई देखाउने अवसर प्राप्त गरे ।
तुलसीपुर-३ दमारगाउँमा रहेको सरस्वती माविमा संचालन भएको सुनाखरी सिकाई मेलामा उनले सोलार प्रविधिबाट सिंचाई गर्ने प्रविधि देखाउने अवसर प्राप्त गरे ।
‘सुर्यबाट प्राप्त हुने इनर्जी सोलार प्रविधिबाट क्याप्चर गरेर सिंचाई गर्न सकिने स्याम्पलिङ गराएको छु ।’ उनले भने-‘अहिले सानो आकारमा भएपनि यसैलाई ठुलोरुप पनि दिन सकिन्छ ।’
समिक्षा लामीछाने र लक्ष्मी न्यौपाने पनि हाम्रो पहुँच माविमै छन् ।
उनीहरुले फालेका कागज र बोतललाई पनि प्रयोग गरेर फूल बनाएका थिए । दुवै जनाले आफुले सिकेको सिप अरुलाई सिकाउन पनि पाएको र अरुबाट पनि थप कुरा जान्ने मौका पाएको बताए ।
सुप्रिया वली सरस्वती मावि कक्षा ८ मा पढ्छिन् । उनले फालेका कार्टुन र पेन्सील काटेको फोहोरबाट फूल बनाएको कुरा धेरै देख्ने र सिक्ने अवसर प्राप्त गरे ।
‘हामीले फालेको वस्तुलाई पनि प्रयोगमा ल्याएर सजाउन सकिन्छ ।’ उनले भने-‘यो अरु साथीहरुले सिक्ने अवसर पाउनुभयो, मैले अरुले जानेका सिप बुझ्ने मौका पाएँ, विद्यालयमा सुनाखरी मेला लाग्न म खुशी छु ।’
विद्यार्थीले सिकेका सिप आदान प्रदान गर्नका लागि सरस्वती मावि दमारगाउँमा शुक्रबार सुनाखरी मेला संचालन भएको हो । सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैँयाँले सिकाई मेलाले बालबालिकाको बाहिरी ज्ञान सिकाईमा सकारात्मक भूमिका खेलेकोे बताए । ‘बालबालिकाको कितावीभन्दा बाहिरी ज्ञान प्राप्तीमा सिकाई मेला हो ।’ उनले भने-‘अहिलेका बालबालिका योग्य र सक्षम बन्नमा यसले भूमिका खेल्नेछ ।’
मेलामा विद्यालय, बैंक र अस्पताल गरी ३० वटा संस्थाले स्टलमा विद्यार्थीले बनाएका विभिन्न कुराको प्रदर्शनी गरेको टिच फर नेपाल दाङका व्यवस्थापक माधवप्रसाद देवकोटाले बताए । ‘मेलामा करिब ४ हजार जनाले अवलोकन गरेका छन् ।’ उनले भने-‘४१ संस्थागत उपस्थिति रहेको थियो ।’
विद्यार्थीको चौतर्फी विकासका लागि सुनखरी सिकाई मेला संचालन गरिएको उनले बताए । ‘विद्याथीले एकले अर्कोलाई सिप देखाउने अवसर नै सिकाई मेला हो ।’ उनले भने-‘यो मेलाले बालबालिकाको चौतर्फी विकासमा महत्वपूणर् सहयोग पुग्नेछ ।’
सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोर्न बहादुर खड्काको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले सिकाई मेलाले बालबालिकाको अतिरिक ज्ञान प्राप्तीमा महत्वपूणर् भूमिका खेलेको बताए ।
यस्तै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले सिकाई आदान प्रदानले सक्षम र दक्ष जनशक्ति उत्पादनमा महत्वपूणर् भूमिका खेल्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी, तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक तथा तुलसीपुर-११ का अध्यक्ष मान बहादुर रावत, सरस्वती माविका प्रधानाध्यापक जंगबिर केसीले वर्सेनि संचालन हुने सिकाई मेलाले बालबालिकाको चौतर्फी विकासमा सहयोग पुगेको बताए । कार्यक्रमको सहजीकरण बिमला वली र सिद्धान्त बोहराले गरेका हुन् ।