२०८१ मङ्सिर २३ गते आइतवार

‘सामाजिक संजालमा आएका कुरामा सत्यता छैन्’

दाङ, ५ माघ । तुलसीपुर उपमहानगरपालिकाको प्राकृतिक स्रोत साधन तथा अनुगमन समितिले सामाजिक सञ्जालमा बाहिर आएको कुराहरूको आपत्ति जनाएको छ ।

गत पुस २६ गते ट्याक्टर व्यवसायीहरूले र सामाजिक सञ्जालमा आफूहरूलाई पैसा खाएर ट्याक्टर छोडेको भन्ने आरोप लगाएको कुरा सत्यता नभएको समितिले जनाएको छ ।

बिहीबार उपमहानगरका समितिले पत्रकार सम्मेलन गरी आफूहरूले कुनै गल्तीहरू नगरेको स्पष्ट पारेको छ ।

समितिका संयोजक तथा तुलसीपुर १४ का वडाध्यक्ष शंकर कुमार खड्काले अवैध रुपमा ढुंगा ल्याएको ट्याक्टरलाई नियन्त्रण लिएर आफूहरूले राजश्व उठाउँदा समेत आफूहरूको बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

‘राजश्व नतिरेका ट्याक्टरहरूलाई हामीले नियन्त्रणमा लिएका थियौँ । राज्यलाई राजश्व छल्न हामीलाई आरोप लगाइएको थियो ।’ उहाँले भन्नुभयो-‘हामीले मेयर सापलाई अनुसन्धान गर्न दिएका थियौँ । तर, हामीले त्यस्तो गल्ती नै गरेका छैनौँ । राम्रो काम गर्दा हामीलाई बदनाम गर्न खोजेकोमा हाम्रो आपत्ति छ ।’

उहाँका अनुसार समितिले अवैध रुपमा ढुंगा, गिट्टी बालुवा बोक्ने गाडी र अवैध रुपमा ढुंगा, गिट्टी बालुवा थुपारेको नियन्त्रण लिएर हालसम्म ४० लाख राजश्व संकलन गरेको छ ।

यस्तै समितिका सदस्य एवं तुलसीपुर-१६ का वडाध्यक्ष शिवानन्द डाँगीले पनि बाहिर आएको कुरा गलत भएको बताउनुभयो । ‘ यदि हामीले प्रहरी वा कुनै पनि ट्याक्टर धनीसँग सेटिङमा काम गरेको भए आज राजश्व यति धेरै उठ्ने थिएन होला ।’ उहाँले भन्नुभयो-‘हिजोको दिनहरूमा भन्दा पुस मसान्तसम्म राजश्व सङ्कथनबाट प्रष्ट हुन्छ, हामीले कुनै बेमानी गरेका छैनौँ । बरु हामीलाई बदनाम गर्न खोजियो ।’

आफूहरू सयौँ गाडीहरू रातविरात अहोरात खटेर पक्राउ गर्दै आइरहेको भन्दै उहाँले हिजोका दिनहरूमा सेटिङमै काम गर्न नपाएकाहरू अहिले छटपटाइरहेको समेत बताउनुभयो ।

यस्तै नगरप्रमुख टिकाराम खड्काले समितिका पदाधिकारीहरू अहोरात्र खटेर अवैध रुपमा काम गर्ने गाडीहरू नियन्त्रण लिएर राजश्व संकलन गर्ने काम गरेको बताउनुभयो । अहिले बाहिर हल्ला आएको जसरी समितिले कुनै पनि सेटिङमा काम नगरेको समेत उहाँले दावि गर्नुभयो ।

उपमहानगरले अबैध रुपमा खोलाबाट गिट्टी, बालुवा उठाउने ट्याक्टरलाई २५ हजार, टिपरलाई ५० हजार र स्काइभेटरलाई ५० हजार जरिवाना स्वरुप राजश्व तोकेको समेत उहाँले बताउनुभयो ।

अहिले उपमहानगरले नै उत्खखन गरेर त्यसलाई टेन्डर खोलेर बिक्री गर्ने समेत बताउनुभयो । अहिले १२ ठाउँमा आइई गरेको र १३ ठाउँमा आइई गर्ने प्रक्रियामा रहेको समेत बताउनुभयो ।

गत पुस २६ गते केही ट्याक्टर व्यवसायीहरूले उपमहानगरले आफ्ना ट्याक्टरहरू नियन्त्रण लिएर आफूहरूलाई दुख दिएको भन्दै उपमहानगरको गेटमा नाराबाजी गर्दै तालाबन्दी गरेका थिए , भने समितिलाई विभिन्न किसिमका आरोप समेत लगाएका थिए ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस