२०८१ असोज ४ गते शुक्रवार

स्थानीय कलाकार र स्थानीय उत्पादनले स्थान नपाउने मेला महोत्सवको काम छैन् : मुख्यमन्त्री चौधरी

दाङ,२८ पुस । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले मेला महोत्सवको नाममा पैसा बाहिर गएको बताउनुभएको छ । ‘मेलाको ब्यानरमा स्थानिय उत्पादन, कला र संस्कृतिको संरक्षण लेखेर टाँस्ने तर पैसो जतिजम्मै बाहिर पठाउनु दुखद हो ।’ उहाँले भन्नुभयो-‘अब स्थानीय कलाकार र स्थानीय उत्पादनले मेला महोत्सवमा स्थान पाउनुपर्छ ।’

आगामी माघमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको व्यापारीक मेलातर्फ लक्षित गर्दै मुख्यमन्त्री चौधरीले कलाकार बाहिरको, सामान बाहिरको, व्यापारी बाहिरका अनि लेख्नैमात्रै स्थानिय उत्पादन प्रवद्र्धन भनेर लेख्ने गरिएको बताए ।

उहाँले मेला महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्ने बताउनुभयो । ‘तुलसीपुरमा सामान किन्नु र मेलामा सामान किन्नु के फरक छ ?’ उहाँले भन्नुभयो-‘ बाहिरका सामान ल्याएर बेच्ने हो भने मेलाको आवश्यकता छैन् ।’

शनिबार तुलसीपुर नगर जेसिजको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले अब स्थानीय उत्पादनको बजारीकरणको विकल्प नभएको बताउनुभयो । उहाँले मेला महोत्सवमा स्थानीय उत्पादन र स्थानीय कलाकारलाई स्थान दिनुपर्नेमा जोड दिनुभयो । ‘तुलसीपुर उद्योग वाणिज्य संघका साथिहरू यहाँ हुनुहुन्छ कि नाई ? उहाँले भन्नुभयो-‘नाँच्ने पनि बाहिरको, सामान बाहिरको, खानापिन बाहिरको अनि मेलाको औचित्य के हो ? युवा साथीहरू हुन्नुहुन्छ अब त्यो रोक्नुस् । बाहिरका कलाकार सोपिसका लागि ल्याउनुस तर यहाँको पैसो बाहिर पठाउन मेला नलगाउनुस् ।’

उहाँले स्थानीयले स्थान नपाउँदा युवा पलायनको स्थिति आईपुगेको बताउनुभयो । ‘स्थानीय कलाकारलाई स्टेज चढाउनुस, स्थानीय उत्पादनलाई जोड दिनुस् अनि पो रोक्न सकिन्छ युवा पलायन ।’ उहाँले भन्नुभयो-‘कुरा गर्ने तर काम नगर्ने परिपाटीको अन्त्य नहुँदासम्म बिकासले गति लिन सक्दैन्, जम्मै तपाईहरू नेतालाई काम गरेनन भनेर गाली गर्नुहुन्छ तर आफू काम गर्नुहुन्न कमजोरी नै यही हो ।’

मूख्यमन्त्री चौधरीले जेसिजमा आवद्ध युवाले आर्थिक रुपान्तरणमा सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो ।‘युवाको नेतृत्वको विकास गर्छौं भन्नुहुन्छ तपाईहरू, भएका युवाको नेतृत्व गर्ने हो । पलायन भाका युवाको नेतृत्व गरेर के गर्नुहुन्छ । मुख्यमन्त्री चौधरीले भन्नुभयो ‘ नेतृत्व विकासको नारा मात्र दिएर के गर्नु हुन्छ, स्वदेशमा बस्ने वातावरण बनाउनु परेन ?’

उहाँले रक्तदान, प्रतिक्षालय निर्माण, खेलकुद र चोक निर्माण गरेर आर्थिक विकास नहुने भन्दै आयोजकलाई उल्टै प्रतिप्रश्न गर्नुभयो । उहाँले युवाहरूलाई देशमै बसेर उद्धमी बन्ने वातावरण बनाउन आग्रह गर्नुभयो । जेसिज अबका दिनमा सेवाको भावनाले मात्र होइन, उत्पादनशिल क्षेत्रमा पनि प्रवेश गर्नुपर्ने सुझाव दिनुभयो ।

पद हस्तान्तरण कार्यक्रम अवधिभर पुरा समय दिएर बसेका मुख्यमन्त्री चौधरीको मन्तव्य दिँदा दिनभर भरीभराउ हल आधा खाली भैसकेको थियो । त्यही भएर पनि होला तुलसीपुर नगर जेसीजलाई सुझाव एकपछि अर्को थप्दै मुख्यमन्तत्री चौधरीले तुलसीपुरमा अब नारा लगाएर, विपि र पुष्पलालका फोटो राखेर मात्र अगाडि बस्न नसकिने बताउनुभयो । ‘आफ्नै फोटो हेरेर अग्रजको सम्मानस्वरूप काम गर्ने बेला आएको छ ।’ उहाँले भन्नुभयो । उत्पादनमुलक क्षेत्रमा काम गर्न आफुहरू तयार रहेको बताउदै योजना पेश गरे उत्पादनमुलक क्षेत्रमा काम गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस