२०८१ बैशाख ११ गते मङ्गलवार

व्यवसायमा लाग्दा योजना अनिवार्य

दाङ, २७ पुस । व्यवसायीक योजनाबिनै आउँदा धेरै व्यवसायी पलायन हुने गरेको सरोकारवालाहरुले बताएका छन् । तुलसीपुरमा भएको इन्क्युवेटरको सिकाई आदान-प्रदान सम्मेलनमा सरोकारवालाले योजना बनाएर मात्र व्यवसाय शुरुवात गर्नुपर्नेमा जोड दिएका छन् ।

व्यापार व्यवसाय धरापमा हुँदा पछिल्लो समय धेरै व्यवसायी पलायन हुन थालेको भन्दै उनीहरुले व्यवसायीलाई स्थापित गराउन राज्यको सहयोग हुनुपर्नेमा जोड दिएका छन् । युवा व्यवसायी अर्जुन भट्टराईले व्यवसायीलाई राज्य र राज्यलाई व्यवसायीले सहयोग गर्नुपर्ने बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले व्यवसायमा आउँदा योजना बनाएरमात्र आउनुपर्नेमा जोड दिनुभयो ।

तयार नेपालका अशिम श्रेष्ठको अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आथिथ्यतामा कार्यक्रम भएको हो । नगरप्रमुख खड्काले युवाले व्यवसायीक योजना बनाएर आएमा राज्यले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले नयाँ व्यवसायीलाई स्थापित गराउन स्थानीय सरकारले करिब ५ वर्षमा कर छुट्को योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले व्यावसायीक सफलतामा लगनशिलताको पाटो महत्वपूर्ण रहेको बताउनुभयो । चुनौति आउँदा निराश भएर छोड्ने भन्दा पनि सिकाई सिकेर अघि बढ्न सके सफलता टाढा नभएको उहाँको धारणा छ ।

तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले विद्यार्थीलाई उत्पादनसंग जोड्ने किसिमको शिक्षा कलेजले दिने गरेको बताउनुभयो । उहाँले अहिले बजारमा माटो सुहाउँदो जनशक्ति उत्पादनमा कलेजले जोड दिएको बताउनुभयो ।

कार्यक्रममा युवा व्यवसायी ब्ल्याक डायमण्डस प्रालिका झग्गु भण्डारी ,भट्टराई बाजेको पेडा उद्यमी अर्जुन भट्टराई, धर्म अटो मोबाइल लिलाराम नेपाली, ठगुप्रसाद भण्डारी, विवेक भण्डारी लगायतले व्यवसायको प्रकृति, योजना, लक्षित उपभोक्ता लगायतका योजना प्रस्तुत गरेका थिए ।

अन्तर प्रेरणाका अमीर महर्जनको स्वागत मन्तव्यबाट कार्यक्रममा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, युएसएआईडी श्रमलाल चौधरीले युवालाई व्यवसायमा स्थापित गराउन आवश्यक समन्वय र सहकार्य निरन्तर हुनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण नेपाल घरेलुु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस