दाङ, २५ पुस । दाङमा हत्याका घटना बढ्दो रुपमा रहेको पाइएको छ । आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म दाङमा ५३ जनाको हत्या भएको छ । प्रहरीको तथ्याङ्कअनुसार चालुवर्षको पुस २० गतेसम्म दाङमा ५३ जनाको हत्या भएको हो ।
चालु आर्थिक वर्ष ०८०/०८१ को पुस २० गतेसम्म आठ जनाको हत्या भएको छ । जसमा धारिलो हतियारको प्रयोगबाट दुई, गोली प्रहारबाट दुई, कुटपिटबाट दुई र अन्य दुई गरी आठजनाको हत्या भएको छ । हत्यामा संलग्न १४ जना प्रतिवादी पक्राउ परेका छन् । जसमा चारजना महिला र १० जना पुरूष रहेका छन् ।
यस्तै आर्थिक वर्ष ०७९/०८० मा ९,आर्थिक वर्ष ०७८/०७९ मा १७ र आर्थिक वर्ष ०७७/०७८ मा १९ जनाको हत्या भएको छ ।
तीन आर्थिक वर्षमा दाङमा प्रहरीको तथ्याङ्कअनुसार धारिलो हतियारको प्रयोगबाट ८, घाँटी थिची ३, डोरीले बाँधेर कसेर १, कुटपिटबाट १८, धकेलेर ४, गोली प्रहारबाट ४, विष खुवाएर १, ढुंगामुढा, लाठी प्रयोग गरी २ र अन्य ४ जना गरी ५३ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
मल्लका अनुसार हत्यामा संलग्न १०७ जना प्रतिवादी पक्राउ परेका छन् । जसमा १५ जना महिला र ९२ जना पुरूष रहेका छन् ।
दाङका प्रवक्ता तथा डिएसपी मल्लले दाङमा पछिल्लो समयमा नियोजित रूपमा गरिने हत्या बढिरहेको बताउनुभयो ।